-प्रदीप पौडेल/ईमेज
पोखरा । राष्ट्रिय गौरवका आयोजनामध्येको निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ५५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ ।
विमानस्थलमा काम गर्ने चिनियाँ कामदार कोरोना भाइरसका कारण चीनमै रोकिएकाले काम प्रभावित हुने संभावना देखिएको हो ।
विमानस्थलका लागि चीन सरकारले २२ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ । जसका कारण यहाँ चिनियाँ कामदारहरु उत्तिकै रहेका छन् ।
२०२१ को जुलाईबाट अन्तर्राष्ट्रिय उडान गर्ने योजनामा नागरिक उड्डययन प्राधिकरण रहेको छ ।
तर चीनमा देखिएको कोरोना भाइरसका कारण चीन आवतजावतमा कडाइ गरिएसँगै नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदार पनि उतै रोकिएका छन् ।
अहिले नेपाली कामदारहरुले विमानस्थलको काम गरिरहे पनि चिनियाँ पक्षले गर्नुपर्ने काम रोकिएको छ ।
यो स्थिति केही दिनमा समाधान भए त आयोजनाको काममा खासै प्रभाव पर्ने देखिन्न ।
अब विमानस्थल निर्माणका लागि पुरानासहित २०० चिनियाँ कामदारको आवश्यकता छ ।
विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मी चीनमा नयाँ वर्ष मनाउन गएका कामदार नफर्किँदा काममा समस्या भइरहेको बताउँछन् ।
३ दिनअघि नेपाल आएका १० जना चिनियाँ कामदारलाई पनि चिकित्सकको निगरानीमा राखिएको छ ।
चीनबाट आउन बाँकी रहेका कामदारहरुलाई पनि १५ दिनसम्म स्वास्थ्य परीक्षण गर्ने त्यसपछि लक्षण नदेखिए मात्र नेपाल ल्याउने बताइएको छ ।
नेपाल ल्याइसकेपछि पनि तत्काल काममा नलगाई उनीहरुलाई केही दिन निगरानीमा नै राख्ने तयारी आयोजनाले गरेको छ ।
यसका लागि छुट्टै पाँचवटा आइसोलेसन वार्डसमेत परिसरभित्रै खडा गरिएको आयोजना प्रमुख विनेश मुनाकर्मीको भनाइ छ ।
तर, विमानस्थलमा कार्यरत कामदारहरू चाहिँ कोेरोना उत्पत्ति भएको हुबेई प्रान्तका भने होइनन् ।
विमानस्थलबाट भित्रिने पर्यटकहरूको जाँचका लागि पोखरा क्षेत्रीय विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ ।
तर कोरोनाको संक्रमण थप जटिल बन्दै गएमा विमानस्थलको काम प्रभावित बन्ने देखिएको हो ।





प्रतिक्रिया दिनुहोस्