सहमतिका लागि भन्दै माओवादी केन्द्रको निर्वाचन कार्यतालिका स्थगित « Image Khabar


सहमतिका लागि भन्दै माओवादी केन्द्रको निर्वाचन कार्यतालिका स्थगित


78
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि जारी गरिएको कार्यतालिका स्थगित गरिएको छ ।

सहमतिको लागि भन्दै आइतबार दिउँसो १ बजेसम्मका लागि कार्यतालिका स्थगित गरिएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो ।

रातभर नै सहमतिको प्रयास जारी राख्ने र आइतबार १ बजेसम्म पनि सहमति नभए पुनः निर्वाचन प्रक्रिया सुरु गरिने उहाँले बताउनुभयो ।

आजको बन्दसत्रबाट बाहिरिने क्रममा नेता एवं राष्ट्रियसभा सांसद रामनारायण विडारीले भोलि साँझसम्म सर्वसम्मतिमार्फत नेतृत्व चयन हुने बताउनुभएको थियो ।

माओवादी केन्द्रको अध्यक्षमा सर्वसम्मतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुँदा अन्य पदाधिकारी र केन्द्रीय सदस्य लगायतका पदमा भने निर्वाचन हुने देखिएको छ । यद्यपि विडारीले सहमति नजिक पुगिसकेको बताउनुभएको छ ।

महाधिवेशनले शनिबार सर्वसम्मतिले पारित गरेको विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ ।

केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ । महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ ।

पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको कोटा बनाइएको छ ।

केन्द्रीय कमिटीमा सबै कोटा र खुलाबाट गरी ३५ प्रतिशत महिला अनि २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ । माओवादी महाधिवेशनम १ हजार ७ सय ४२ प्रतिनिधि सहभागी छन् ।