२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


निजगढ विमानस्थल कुनैपनि हालतमा पूरा गर्नुपर्ने आवश्यकता : मन्त्री भट्टराई


0
Shares

काठमाडौं, माघ २२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल देश विकासको ‘गेमचेन्जर’ परियोजना भएकोले यस परियोजनालाई आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने बताएका छन् ।

नागरिक उड्डयन प्राधिकरणले सम्पूर्ण विमानस्थलहरुको निर्माणको अवस्थाबारे बुधबार काठमाडौंमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

निजगढ विमानस्थल निर्माणपश्चात् ‘एअर होल्ड’ हुने तथा ट्राफिक जाम हुने समस्यासमेत हट्ने भएकोले परियोजना कुनैपनि हालतमा पूरा गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

पाँच वर्षपछि गौतमबुद्ध, पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसमेत बन्ने भन्दै मन्त्री भट्टराईले वर्षेनि एक करोड पर्यटक नेपाल भित्रिने दाबीसमेत गरे ।

अबको दिनमा भने विमानस्थलको विकासमा संघीय सरकारले प्रविधि र नीतिगतरुपमा मात्रै सहयोग गर्ने र जग्गा तथा मुआब्जाको काममा भने प्रदेश र स्थानीय तहले नै गर्ने पनि मन्त्री भट्टराईले जानकारी दिए ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार अहिले ५४ ओटा विमानस्थलमध्ये ३२ ओटा विमानस्थल सन्चालनमा छन् । कतिपय विमानस्थलहरुको धावनमार्गको तथा पूर्वाधार निर्माणको काम भइरहेको छ ।

प्राधिकरणकाअनुसार अन्तर्राष्ट्रिय विमानस्थलको लागि दुई वर्षमा जग्गा अधिग्रहणको लागि ३३ अर्ब खर्च भएको छ भने पूर्वाधार विकासमा ५० अर्ब खर्च भएको छ ।

यस्तै, आन्तरिक विमानस्थलको जग्गा अधिग्रहणको लागि एक अर्ब तथा पूर्वाधार विकासको लागि ६ अर्ब रकम खर्च भइसकेको छ ।

आगामी पाँच वर्षमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विकास तथा स्तरीकरणको लागि दुई खर्ब ५० अर्ब लाग्ने अनुमान प्राधिकरणको छ ।