३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


नेपाल ओमानसित १८ रनले पराजित, सन्दीपले विकेट लिएनन्, २८ रन बनाए


0
Shares

काठमाडौं, माघ २२ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

१७९ रनमा ‘अलआउट’

बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल १८ रनले पराजित भएको हो ।

१९८ रनको चुनौती पछ्याएको नेपाल ४६ ओभर ५ बलमा ‘अलआउट’ हुँदै १७९ रनमा समेटियो ।

सन्दीपले जोडे २८ रन 

शरद भेषावकरले सर्वाधिक ५५ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३६ रन जोडे । शरदसँग आठौं विकेटका लागि ३८ रनको साझेदारी गर्नेक्रममा सन्दीप लामिछानेले २७ बलमा २८ रन बनाए । जसमा तीन चौका र एक छक्कासमेत सामेल थियो ।

विनोद भण्डारीले २५ बलमा २६ रन जोडे । अन्य खेलाडीले दोहोरो रनसमेत बनाउन सकेनन् ।

सुरुदेखि नै दबाबमा

४ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ललाई १ तथा पूर्वकप्तान पारस खड्कालाई ३ रनमा गुमाएर धरासायी बनेको नेपाल सुरुआतदेखि नै दबाबमा आएको थियो ।

ओमानको १९७ रन, करणको ४ विकेट

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनाएको थियो ।

मोहम्मद नदिमले अविजित ६९ रन बनाएको इनिङ्समा करण केसीले ४, सुशन भारीले ३ विकेट तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

सन्दीप लामिछाने, पारस खड्का र अविनाश बोहरा भने विकेटविहीन रहे ।

त्रिकोणात्मक शृंखला

त्रिकोणात्मक शृंखलामा नेपाल र ओमानसँगै अमेरिका पनि सहभागी छ । यही माघ २९ गतेसम्म चल्ने प्रतियोगितामा तीन टिमले आपसमा दुई/दुई खेल खेल्नेछन् ।

नेपालले दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते शनिबार खेल्नेछ । तेस्रो खेल ओमानसँग माघ २६ गते र अन्तिम खेल अमेरिकासँग माघ २९ गते खेल्नेछ ।

विश्वकप क्रिकेट लिग–२ लाई सन् २०२३ मा हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोटको रुपमासमेत हेरिएको छ ।

शीर्ष तीन टोलीलाई अवसर

७ टोली सहभागी यो प्रतियोगिताका शीर्ष तीन टोलीले विश्वकप छनोट प्रतियोगिता खेल्ने अवसर पाउनेछन् ।

अहिलेसम्म ८ खेलबाट १२ अंक जोडेको अमेरिका तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ९ अंक जोडेको स्कटल्यान्ड दोस्रो, ७ खेलबाट ८ अंक जोडेको नामिबिया र ६ खेलबाट ८ अंक जोडेको ओमान तेस्रो र चौथो स्थानमा छन् । पाँचौ स्थानको युएईले ७ खेलबाट ७ अंक जोडेको छ ।

नेपालले पहिलो खेल खेलेको हो । ८ खेल खेलेको पपुवा न्यूगिनीले अंक जोड्न सकेको छैन ।