नेता : मिथक, भ्रम र वास्तविकता « Image Khabar


नेता : मिथक, भ्रम र वास्तविकता


130
Shares

पेशल आचार्य

काठमाडौ । संस्कृत भाषाले ‘नेता’ भनेको ‘समाजका हजारौं व्यक्तिलाई उज्यालोतर्फ डोहोर्‍याउने व्यक्ति’ लाई भन्छ । यसर्थमा नेताको परिभाषा केही लामो छ –‘नयति इति नेता ।’ व्युत्पन्न शब्दजस्तो व्युत्पत्तिमूलक छोटो छैन । हुन त ‘नेता’ आधार शब्दमै ‘अभि’ उपसर्ग लागेर ‘अभिनेता’ शब्दको निर्माण हुन्छ । यसको अर्थचाहिँ ‘अभिनयबाट अगाडि लैजाने हो ।’ चाहे त्यो ‘सही वा ठीक अभिनय होस्’ या ‘गलत वा बेठिक’ । सही भए ‘नायक’ गलत भए ‘खलनायक’ !

तर आज हामीले खलनायक भनिरहेको व्यक्ति हिजोको नायक र हिजो हामीले नायक भनेर मानिरहेको व्यक्ति आज खलनायक सावित भैसकेका छन् । किनकि हरेक व्यक्ति वा वस्तुको परिभाषा सामयिक हुन्छ । त्यसलाई परिवेश र सन्दर्भका अर्थमा राखेर हेर्न सकिन्छ ।
समाजमा सबै प्रकारका मानिसहरू हुन्छन् । स्वार्थी, परार्थी र परमार्थी । हामीले भन्न मात्र नसकेका हौं । हामीबाट धर्मशास्त्रमा पूजी आएका भगवान्हरू पनि सबै नेताहरू नै हुन् । देवतालाई मान्ने र पूज्नेका लागि देवताहरू नेता हुन् भने दानवहरूलाई पूज्नेका लागि दानवहरू नै नेता हुन् । अझ एक कदम अघि बढेर भन्दा पुरुष मात्र नेता नभएर स्त्री या नारीहरू पनि नेतृ हुने गर्दथे । यस मानेमा महेश नेता हुन् । राम र कृष्ण नेता हुन् । ब्रह्मा नेता हुन् । बुद्ध पनि नेतै हुन् । हुँदाहुँदा इतिहासका वीर पुरुषहरू सबैसबै नेता हुन् । अहिले तेतापपट्टि नजाऊँ ।हिजो राजर्षि जनकका दरबारमा गार्गी र मैत्रयी नामक याज्ञवल्क्यका पत्नीद्वय उनलाई शास्त्रार्थमा हराउँदथे । त्यो मानेमा तिनीहरू नै नेतृ हुन्थे ।अनि पाँच सय/हजार गाईहरू पुरस्कारमा लैजान्थे ।

जमानाले पल्टा खायो । आदर्श छाँट्ने र आदर्शमै हिँड्नेहरू समाजका अगुवा थकाली हुन थाले । त्यो समय कृषि युग र केही ग्राम्य युग थियो । जब गाउँबाट मानिसहरू सहरी सभ्यतामा प्रवेश गरे अनि विस्तारी राजनीति, दर्शन, विचार र व्यवहारहरू प्रकटावस्थामा आएका हुन् ।
बेलायतमा औद्योगिक क्रान्ति सम्पन्न भएपछि क्रमशः संसारभरि नै यसको असर पर्न थाल्यो । फलतः मिल मजदूर र मालिकका बीच उत्पादन, पूँजी र नाफाका सम्बन्धमा रस्साकस्सी सुरु भएपछि अनि जुलुस बनेर आएका हुन् –माक्र्सवाद, पूँजीवाद, बजारवाद, श्रमिकका हित र समतामूलक समाजका बहसमय अनेकानेक डिस्कोर्सहरू ।

हिजो नेतृत्वका लागि पूँजी र इमान्दारिता प्रथम हुन्थ्यो । बादबाँकी अन्य कुराहरू । अहिलेको पहिलो पूँजी भनेको मनी, मसल्स र माउजर (हतियार) हो । अहिलेका नेताहरूमा विचार र दर्शन कम गुट÷उपगुट र भाषण बढी भए हुन्छन् । नेता हुनका लागि अहिले उहिलेजस्तो त्याग, तपस्या र कुनै प्रकारका योगदान नभए पनि हुन्छ । मात्र आफूभन्दा माथिल्लो पदको नेताको आशीर्वाद भए पुग्छ ।

यो मानेमा शनैःशनैः आदर्शको, विचारको र सिद्धान्तको राजनीति गर्ने नेताहरू मानिसको दिल र दिमागबाट हराउँदै गएका छन् । मात्र पैसा खर्च गर्न सक्ने नेताहरू भोटरका दिल र दिमागमा स्थापित हुँदै आए । यो दुःखको कुरा हो । नेताहरू जसरी पनि चुनाव जित्नै पर्ने रोगले गर्दा ‘लेता’ र लिडर क्रमशः ‘डिलर’ भएको सन्दर्भ देखियो । यो अवस्था आउनुमा दलहरू क्रमशः दलालीगिरीतर्फ अग्रसर भएकैले हो भन्ने समेत विचार सुनिन थालेको छ ।

लेखक तथा अर्थ विश्लेषक केदार आचार्यका शब्दमा नेतृत्वको जीवनशैलीलाई यसरी हेरिएको छ –‘नेताले स्वदेशमा उपचार गर्नुपर्छ । नेताले सानो घरमा बस्नुपर्छ । नेताले छोराछोरीहरू सरकारी स्कुलमा पढाउनुपर्छ । नेताले सामान्य जीवन बाँच्नुपर्छ । हामीले सुनिआएका कुरा हुन् यी । यो सुन्दा हामी उत्साहित हुन्छौं पनि । तर, अलिकता गहिरिएर सोचौं त ! राजनीतिमा लागेका मानिसको अकूत आर्जनमा नियन्त्रण गर्न नसक्ने भएपछि गरिब समाजमा उनीहरूको भड्किलो जीवनशैली देखेर आफैँ लज्जित हुनु नपरोस् भनेर गरिएको अरण्य रोदन मात्र हो यो । कमाइ भएपछि खर्च गर्न खोजिन्छ नै ।

स्वीस बैँकमा जम्म्मा गर्नुभन्दा यहीँ खर्च गर्नु राम्रो !! खर्चमा नियन्त्रण गर्नुभन्दा राज्यको सम्पत्तिको अनुचित दोहनमा नियन्त्रण गर्नु राम्रो । राज्यको धन लुट्नेहरूका लागि सम्मानका साथ ‘लालसलाम’, ‘जय नेपाल’ र ‘नमस्कार’ गर्न नछोडेसम्म यो रुवाइले केही लछारपाटो लगाउँदैन !!’

हिजो प्रचण्ड मिथकजस्तै लाग्थे आज संसदीय राजनीतिको भासमा परेर निरुपाय सामान्य व्यक्ति लाग्दैछन् । यसमा समयको कत्ति दोष छैन । प्रचण्डले आफ्नो मिथकीय शक्ति आफैँ अवमूल्यन गरेका हुन् । एउटा नेता निरन्तर गिर्ने भनेकै स्वास्नी, छोराछोरी र आफन्तको फरियागिरी गरुन्जेलसम्म मात्र हो । क्रूर भएर न्याय दिने नेताहरु संसारमा गिरेकै छैनन् ।‘मण्डेलाले २७ वर्षसम्म जेल बस्दा पर्खेकी पत्नी बिनी मण्डेलालाई आफ्नु राष्ट्रपतित्व कालमा खाद्य तथा केन्द्रीय सुरक्षा मन्त्री हुँदा भएको भ्रष्टाचार अभियोगमा मन्त्रीबाट मात्र निकालेनन् कि पत्नीका रूपबाट समेत डिभोर्स दिए । कस्तो अचम्म दुनियाँका लागि नेताले स्वास्नी छाड्न सक्छ तर वचन त्याग्न सक्दैन । यो हो नि नेतृत्वको स्पाति गुण ! हाम्रामा भने गुहू, मुत, –याल र सिँगान पनि त्याग्न नसक्नेलाई नेता भनेर पूज्नु परेको छ ।’ काँग्रेसका एक अभिवाहित नेता यसरी दुखेसो पोख्छन् ।

चर्चित युवा पत्रकार नारायण अमृत भन्छन् –‘प्रचण्ड वर्तमान राजनीतिका सबैभन्दा कमजोर तर ‘भोकल्ड’ र ‘आकर्षक नेता’ हुन् । उनी ओलीजस्तो कुतर्क त गर्दैनन् तर उनले आजसम्म युद्धका नाममा गरेको ज्यादती बहुत् खतरनाक घाउ बनेर बसेको छ, समाजमा । यो उनको अहिलेको अधिवेशलाई ‘माफीनामा अधिवेशन’ बनाउन सकेको भए क्षमाशील नेपालीले उनलाई पत्याउने थिए ।’ यो बुद्धि प्रचण्डका खोपडीमा सायद् यो जुनीभर पस्दैन, पत्रकारका दिमागमा आएर के गर्नु ? त्यसैले विद्वानहरू भन्छन् –‘सितिमिति राजनेता बन्न जो कोही सक्दै सक्दैनन् ।’
एमालेका पूर्व सांसद देवशंकर पौडेल आफ्नो फेसबुक पेजमा एउटा आफूले बनाएको पेन्टिङ् सार्वजनिक गर्दै लेख्छन् –‘सर्पले निल्दै गरेको भ्यागुताले झिँगो खान खोजेजस्तो हुँदैछ नेपालको राजनीति । मूर्धन्य नेताहरूले होस् गर्नु जरूरी छ ।’ यो भनाइको निहितार्थ भाव भनेको अहिलेको एमसिसी सन्दर्भमा हो । अहिले पश्चिमाहरू चीन विरुद्धमा धेरै चल्मलाएका छन् ।

केही दिनअघि क्यानाडाका वर्तमान प्रधानमन्त्रीले ‘चीन विरुद्ध पश्चिमी देश एक हुन आवश्यक छ’ भन्ने अभिव्यक्ति दिएसँगै नेपालमा अमेरिकाले लेऊ कि लेऊ भनेर एम्सिसीलाई खाए खा नखाए घिच शैलीमा भनेको देख्दा अब नागरिक स्तरमा निकै शङ्का उब्जिएको स्थिति छ । पूरै देश नै दुई कित्तामा बाँडिएको अवस्था छ । नेताहरूलाई एससिसी नलिए दिसापिसाब नै बन्द होलाजस्तो भैसक्यो भने काँग्रेस, एमाले इतरबाहेक सबै तह र तक्काका नागरिकहरू एमसिसीको नामै सु्न्न चाहँदैनन् ।

‘यस्तो बेलामा नेपालका वर्तमान समयका नेताहरूले खूब सोचेर मात्र निर्णय लिनु आवश्यक छ । एमसिसीकै कारण देश अमेरिका र चीनको रणसङ्ग्राम स्थल भयो भने मरेर गए पनि अहिले एमसिसी दस्तखत गर्ने नेताहरूलाई जनताले चिहानबाट निकालेरै भए पनि सजाय दिनेछन् ।’ अहिले जनस्तरमा यस्ता अवधारणाहरू समेत आउन थालेका छन् ।

हिजोका बीपी र पुष्पलालका अनुयायीहरू अहिले तिनीहरूका आदर्श र व्यवहारबाट धेरै पछि हटिसकेको स्थिति छ । यस मानेमा अहिलेका पुस्तालाई बीपी र पुष्पलाल पढाइनु झन् सान्दर्भिक भैरहेको छ । यो कुरा तत्तत् राजनीतिक पार्टीका नेताहरूले बुझ्नु पर्ने कुरा हो । समयान्तरमा पुराना र आदर्शवादी नेताहरूको जीवनी, यशगान र कार्यशैली हरेक नयाँ पुस्तालाई सिकाउनु पर्छ । राजनैतिक स्कुलिङ्भित्र यो पर्दछ पनि ।
तर अहिले नेपालमा आफूसँग कार्यरूपमा नमिल्ने, वैचारिक बहर गर्न रुचाउने र पृथक् सोचमा आबद्ध उदीयमान कार्यकर्ता होस् या नेता तिनीहरूलाई खुइल्याउने परम्परा देखिएको छ । यसले यो परिपार्टी नकारात्मक रूपमा बढ्दै गएमा सिष्टमलाई नै धराशायी नबनाऊला भन्न सकिन्नँ ।

यो हालैमा सम्पन्न दुई ठूला राजनीतिक पार्टीका महाधिवेशनहरूले समेत देखाए । एमालेमा डा.भीम रावल र नेपाली काँग्रेसमा डा.शेखर कोइराला प्रवृत्तिको जुन तबरले हार गराइयो त्यसले नेपाली राजनीतिमा वर्तमान समयमा त बलेको आगो ताप्नेहरूलाई खुसी बनाएको हुनुपर्छ । तर त्यसले आदर्श, निष्ठा र विचारको राजनीति गर्नेहरूलाई भने निक्कै ठूलो सदमा (चोट) दिएको छ ।

जहिल्यै पनि पुरानो र सामन्ती सोचकै नेताहरूको तलुवा चाटेर राजनीति गर्ने हो भने त्यसले समाज रुपान्तरण र नेतृत्व हस्तान्तरणमा कुनैगतिलो योगदान दिनै सक्दैन । यो अहिलेको नेपालको राजनीतिक अवस्थालाई हेर्दा थाहा पाइन्छ ।

यो राजनीति भन्ने शब्द समेत अचम्मको छ । गान्धीको पनि राजनीति, गोड्सेको पनि राजनीति, हिटलरको पनि राजनीति, नेपोलियनको पनि राजनीति, युधिष्ठिरको पनि राजनीति र दुर्योधनको पनि राजनीति । नेपालमा पुहाँतु चौधरीको पनि राजनीति र नानीमैयाँ दहालको पनि राजनीति ! कुन ठिक कुन बेठिक केही पत्ता नलाग्ने भैसक्यो !

पञ्चायत कालमा राजनीति गर्नेहरूमा जनपक्षीय नेता रुपचन्द्र विष्ट जो थाहा दर्शनका समेत प्रणेता हुन् चर्चित नेताका रुपमा गनिन्छन् । उनको सम्मानमा अहिले मकवानपुर जिल्लामा थाहा नगरपालिकाको नामकरण नै भएको छ । यो भनेको मृत्योपरान्त सम्मान हो । त्यसैगरी राजनीतिक इमानदारिता भएका नेताहरू पञ्चायतभन्दा बहुदलमा निक्कै कम देखिए । पञ्चायतमा लाजैगालै राजाको डर हुन्थ्यो । अहिले कोही कसैसँग डराउँदैनन् । सबै एक से एक शेरहरू भएका छन् ।

नेपाली काँग्रेसका नेताहरू बीपी कोइराला, सर्वमान्य नेता गणेशमान सिँह, सन्त नेता कृष्णप्रसाद भट्टराई, कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमालेका सिद्धान्तकार जननेता मदन भण्डारी, सादगी नेता मनमोहन अधिकारी र राजनीतिज्ञ सहाना प्रधान र शैलजा आचार्यहरू नै वर्तमानमा क्रियाशील राजनीतिज्ञहरूका लागि मानक भैसकेका छन् । नेता हुन सजिलो तर नेता भएर जन जनका हृदयमा बाँचिरहन निकै गाह्रो रहेको छ । यो कुरा वर्तमान र इतिहासलाई मीमांशा गरेका खण्डमा थाहा पाउन सकिन्छ ।