Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


तस्करी गर्न प्रहरीकै हौसला !


0
Shares

-दुर्गा उपाध्याय/ ईमेज

कञ्चनपुर । भारतसँगको खुला सीमानाका कारण कञ्चनपुरको दक्षिणी क्षेत्रमा अवैध तस्करी बढ्दै गएको छ । सहज आवातजावतका कारण अधिकांश ठूला तस्करीका घटना यसै क्षेत्रबाट हुने गरे पनि सुरक्षा निकायको सक्रियता कम हुँदा तस्करलाई नै हौसला मिलेको छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्रलाई चोरी निकासी तथा अवैध तस्करीका लागि ट्रान्जिट प्वाइन्टका रुपमा लिने गरिन्छ । प्रहरीले गतवर्ष फागुनमा पुनर्वासबाट १८ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको थियो ।

त्यस्तै, २०७१ सालमा बेलौरीबाट भारत निकासी हुदै गरेको १ सय ५० बोरा अवैध सुपारी बरामद गरेको थियो । यस वर्ष दोधराबाट ४० लाख बराबरको अवैध कपडा सहित सशस्त्र प्रहरीले विभिन्न ठाँउबाट झण्डै एक करोड बराबरको अवैध सामान बरामद गरेको छ ।

यी त प्रतिनिधि घटना मात्रै हुन्, खुला सीमानाका कारण यस क्षेत्रबाट चोरीपैठारी मात्रै नभइ मानव तस्करी तथा लागुऔषधको ओसारपसार समेत हुने गरेको स्थानीय बताउँछन् ।

यता, सीमा सुरक्षा र सीमावर्ती क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न कञ्चनपुरमा थप ९ वटा बोर्डर आउट पोष्ट (बिओपी) थपिएका छन् ।

सशस्त्र प्रहरीका अनुसार कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नवास, बेलौरी, बेल्डाँडीमा ६ वटा र महाकाली तथा भीमदत्त नगरपालिकामा ३ वटा बिओपी स्थापनाको काम भइरहेको छ ।

बिओपी स्थापना भएसँगै वर्षौदेखि भारतीय नागरिक र एसएसबीको ज्यादती खेप्दै आएका स्थानीयले सुरक्षित भएको आभास गर्न थालेका छन् ।

सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी गोविन्द क्षेत्रीले बिओपीको उद्घाटन समारोहमा दिएको अभिव्यक्तिले भने अवैध क्रियाकलापलाई नै बढवा दिएकोे देखिन्छ ।

सो क्रममा उनले सशस्त्र प्रहरीसँग नडराउन आग्रह गर्दै उनले स्थानीयले भारतबाट ल्याइरहेको सामानमा आफूहरुले कुनै अवरोध नगर्ने बताए । भारततर्फ सस्तो मूल्यमा सामान पाउने बहानामा कतिपयले भने अवैध सामानको तस्करी गरेका हुन्छन् ।

यसप्रति सुरक्षा निकायको सक्रियता बढाउनुपर्ने देखिन्छ ।