Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


‘कोरोना’को जोखिमप्रति पूर्वसतर्कता अपनाएका छौं’


0
Shares

काठमाडौं, माघ २१ । नेपालको आतिथ्य क्षेत्रमा ‘कोरोनाभाइरस’को संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वसतर्कता अपनाइएको होटल संघ नेपाल (हान)ले जनाएको छ ।

हान र नेपाल भ्रमण वर्ष २०२० सचिवालयले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाभाइरसको अन्तर्राष्ट्रियरूपमा प्रभाव रहेको भएपनि नेपाल सुरक्षित रहेको र बजारमा हल्ला भएजस्तो पर्यटकले होटल बुकिङ रद्द नगरेको स्पष्ट पारेका हुन् ।

पछिल्लो समय चीनको वुहानलगायत विभिन्न प्रान्तमा फैलिएको कोरोनाभाइरसका कारण नेपालको होटल बुकिङ रद्द गरेको समाचार सार्वजनिक भइरहेको सन्दर्भमा हानले आफ्नो धारणा बाहिर ल्याएको हो ।

हानका अध्यक्ष सिर्जना राणाले कोरोनाभाइरसको प्रभाव नेपालमा नरहेको बताउँदै त्यस्ता लक्षण देखिएमा उपचारका लागि सचेत रहेको बताइन् ।

उनले नेपाल सुरक्षित रहेको र सम्भावित जोखिमका लागि पनि सचेत रहेकाले पर्यटन क्षेत्रमा केही असर परे पनि आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गरिन् ।

भ्रमण वर्ष अभियान सचिवालयका संयोजक सुरज वैद्यले कोरोनाभाइरसले चीनको तत्कालीन बजारलाई केही असर परे पनि केही समयपछि अन्त्य हुने विश्वास लिएको बताए ।

हानका प्रथम उपाध्यक्ष विनायक शाहले नेपाल आउने पर्यटकको स्वास्थ्य परीक्षणलगायत पूर्वसतर्कताको काममा सदस्य होटललाई आग्रह गरिएको बताए ।

नेपाल कोरोनाभाइरसबाट अहिलेसम्म असुरक्षित नरहेको सरकारले प्रष्ट पारिसकेको छ ।

भ्रमण वर्ष सचिवालयले आधिकारिक सूचना जारी गरेको र हानले पनि आफ्ना सदस्य होटललाई कुनैपनि पाहुनालाई कोरोना भाइरसको पूर्वसावधानी अपनाउन र संकेत देख्नेबित्तिकै अस्पताल लैजान परिपपत्र गरिसकेको विज्ञप्तिमा भनिएको छ ।

भ्रमण वर्ष सचिवालयसँगको सहकार्यमा कति पनि विचलित नभइ छिमेकी मुलुक भारत, बंगलादेश, मध्यपूर्व, दक्षिण पूर्वी एसियालगायत अन्य विभिन्न मुलुकबाट पनि लक्ष्यअनुसारको पर्यटक भित्र्याउन लागिपरिरहेको उनीहरुले जनाएका छन् ।

तत्कालै अन्य पर्यटन स्रोत बजारको पहिचान र प्रवर्द्धनका निम्ति सरकार, हवाई कम्पनीलगायत सबै सरोकारवालासँग छलफल गरी विशेष पर्यटन प्याकेजको तयारी गरिएकोसमेत यी संस्थाले जनाएका छन् ।

राष्ट्रिय पर्यटन उद्योगमा पर्नसक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न यस क्षेत्र क्रियाशील रहेको पनि उनीहरुले जनाएका छन् ।

यसैगरी, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले पनि नेपाल भ्रमणका लागि सुरक्षित रहेको र सम्भावित जोखिमप्रति सजग रहेको भन्दै ढुक्क भएर भ्रमण गर्न अन्तर्राष्ट्रिय पर्यटकहरुलाई अपिल गरेको छ ।