
काठमाडौं, माघ २१ । आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत् त्रिकोणात्मक एकदिवसीय क्रिकेट बुधबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।
नेपाल, ओमान र अमेरिका सम्मिलित प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र ओमान खेल्दैछन् ।
नेपालले ओमानलाई पराजित गर्दै सुखद सुरुआत गर्न चाहन्छ ।
विगत
अहिलेसम्म ओमानसँग खेलेका ८ मध्ये सुरुआती तीन खेल जितेको नेपाल त्यसपछि सफल बन्न सकेको छैन ।
बुधबारको खेल घरेलु मैदानमा जितेर नेपालले हारको शृंखला तोड्दै नयाँ अध्याय सुरु गर्न चाहन्छ ।
नेपालले अहिलेसम्म खेलेका ६ एकदिवसीय खेल विदेशमा भएका थिए । नेपालले युएईलाई २–१ ले हराएको थियो भने नेदरल्यान्ड्ससँगको एकदिवसीय तीन खेलको ‘डेब्यु’ शृंखलामा १–१ को बराबरी गरेको थियो ।
पहिलोपटक घरेलु भूमिका खेल्दै गरेको नेपालले शानदार प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
तयारी पूरा
यही माघ २९ गतेसम्म चल्ने प्रतियोगितामा तीन टिमले आपसमा दुई/दुई खेल खेल्नेछन् ।
नेपालले दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते, तेस्रो खेल ओमानसँग माघ २६ गते र अन्तिम खेल अमेरिकासँग माघ २९ गते खेल्नेछ ।
यसैबीच, प्रतियोगिताअघि पत्रकार सम्मेलन गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले आयोजनाको तयारी पूरा भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्