Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


करोडौंको लगानीमा बनेको औद्योगिक ग्राम प्रयोगविहीन, उद्योगी निराश


0
Shares

-कविराज घिमिरे/ ईमेज 

धनकुटा । स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनको लागि धनकुटामा करोडौँ रुपैयाँ खर्च गरी संरचना निर्माण गरिएको छ ।

तर संरचना निर्माण गरिएको दुई वर्ष बित्दा समेत सञ्चालनको कार्यविधि नबन्दा उद्यमीमा निराशा पैदा हुँदै गएको छ । औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले धनकुटाको अमलेटारमा २०३९ सालमा ५८ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

तर लामो समयसम्म कुनै पनि उद्योग स्थापना नभएपछि औद्योगिक व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको उक्त जग्गा औद्योगिक ग्रामको नाममा ल्याइ औद्योगिक ग्राम स्थापना गर्ने भनियो ।

सोही अनुसार पहिलो चरणमा सुर्खेत र धनकुटामा औद्योगिक ग्राम स्थापनाको तयारी गरिएकामा अहिले धनकुटामा पहिलो चरणको भवन निर्माण भइसकेको छ ।

२ वर्ष पहिले नै भौतिक संरचना निर्माण भइसकेको भए पनि सञ्चालनमा नआउँदा उद्यमीमा निराशा पैदा भएको छ । यता घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख दिनेश ढुंगाना भने कार्यविधि बनाई छिट्टै सञ्चालनमा ल्याइने दाबी गर्छन् ।

औद्योगिक ग्रामका लागि निर्माण गरिएका दुइदर्जन ब्लक प्रयोगहीन अवस्थामा बसेका छन् । साना उद्योगसहित आवास, बिक्री कक्ष, बाल केयर सेन्टर, स्वास्थ्य सेवा लगायतका सबै यसभित्रै उपलब्ध हुने जनाइएको छ ।

ग्राम सञ्चालनका लागि बजेट समेत विनियोजन भइसक्दा पनि कार्यविधि बन्न ढिलाइ गरेको प्रति आलोचना हुन थालेको छ । ग्राम निर्माण भएर सञ्चालनमा आउन पहाडी क्षेत्रका उद्यमीमा निराशा पैदा भएको घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष बिजय सन्तोषी राईको भनाइ छ ।

पहाडी क्षेत्रको उद्योग व्यवसाय र साना लगानीमा सञ्चालन हुने लघु उद्योगहरुलाई एउटै थलोवाट सेवा प्रदान गर्ने र वजार व्यवस्थापनमा समेत टेवा पुर्‍याउने उद्देश्यका साथ यो अवधारणा आएको हो ।

कार्यविधि जतिसक्दो छिटो तयार गरी यसलाई कार्यान्वयनतर्फ लैजानुपर्ने देखिन्छ ।