-उपेन्द्र खनाल/ ईमेज
तनहुँ । कागजमा आत्मनिर्भर बनाउने उद्देश्यमा सघाउ पुर्याउन तनहुँको दुलेगौंडामा कागज कारखाना स्थापना भएको छ । ५ वर्षअघिदेखि सञ्चालनमा ल्याइएको उद्योगले आफूले मात्रै उन्नति गरेको छैन, स्थानीयलाई समेत रोजगारी प्रदान गरिरहेको छ ।
दुलेगौडामा ०७१ सालदेखि सञ्चालनमा आएको शुक्लागण्डकी कागज कारखानामा अपेक्षित रुपमा कागज उत्पादन हुँदै आइरहको छ । २३ लाख रुपैयाँको लगानीबाट सुरु गरिएको उद्योगको लगानी अहिले ७० लाख रुपैयाँ पुगिसकेको छ ।
२८ जना स्थानीयले उद्योगमै काम पनि पाएका छन् । कारखाना स्थापना भएपछि गाउँमै रोजगारीको अवसर पाएको र मासिक चालिस हजार रुपैयाँसम्म कमाइ गर्दै आएको कामदार बताउँछन् ।
कारखानामा अहिले दश लाख रुपैयाँको उत्पादित कागज भण्डारण गरिएको छ । नेपाली कागजको माग बजारमा राम्रै भएकाले उत्पादनमा प्रोत्साहन मिलेको हो ।
उत्पादन भएको कागज नारायणघाट, पोखरा, काठमाडौ, नेपालगन्ज लगायतका सहरहरुमा बिक्री हुने गरेको छ । कागज बनाउन आवश्यक कच्चा पदार्थ बाबियो र लोक्ता हो ।
बाबियो दाङ र लोक्ता ताप्लेजुङबाट ल्याई कागज बनाउने गरिएको कारखानाका प्रबन्धक डोलप्रसाद सापकोटाको भनाइ छ ।
स्थानीय स्तरमा खुलेका यस्ता उद्योगलाई प्रोत्साहन र थप बिस्तार गर्न सके उद्योगजन्य वस्तुमा हाम्रो परनिर्भरता घट्ने मात्र होइन स्थानीय कच्चा पदार्थको समेत उपयोग हुने थियो ।





प्रतिक्रिया दिनुहोस्