
काठमाडौं, माघ २० । चीनले प्राणघातक ‘कोरोनाभाइरस’बारे अमेरिकाले सहयोगभन्दा त्रास फैलाइरहेकोे आरोप लगाएको छ ।
अमेरिकाले स्वास्थ्य संकटकाल घोषणा गर्दै चीन भ्रमण गरेका सबै विदेशी नागरिक प्रवेशमा रोक लगाएपछि चीनले यस्तो आरोप लगाएको छ ।
पछिल्लो दुई हप्तामा चीन भ्रमण गर्नेहरुमा यो प्रतिबन्ध लागू हुनेछ ।
हुबेईबाट फर्कने अमेरिकी नागरिकले पनि अनिवार्यरुपमा १४ दिन ‘क्वारेन्टाइन’मा निगरानीमा बस्नुपर्छ ।
अमेरिकामा ११ जनामा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको छ ।
यसअघि, अमेरिकी व्यापार सचिव विल्बर रोसले कोरोनाभाइरसका कारण अमेरिकामा थप रोजगार सिर्जना हुने विवादास्पद अभिव्यक्ति दिएपछि चीनले सहयोग गर्नुको सट्टा गलत उदाहरण स्थापना गरेको बताएको थियो ।
यता, संक्रमणको जोखिम बढेको भन्दै हङकङका स्वास्थ्यकर्मीहरुले चीनसँगको सीमा पूरै बन्द गर्न मागसहित हडताल सुरु गरेका छन् ।
चीनको वुहान सहरबाट फैलिएको कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ३६१ पुगेको छ भने १७ हजार संक्रमित भेटिएका छन् ।
चीनबाहिर फिलिपिन्समा एकजनाको मृत्यु भएको छ भने १५० जना संक्रमित भेटिएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्