
काठमाडौं, माघ २० । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ–मर्स्याङ्दी क्लबले पहिलो हार व्यहोरेको छ ।
च्यासल २–० मनाङ
जारी लिगको ९ खेलसम्म अपराजित रहेको मनाङले दशौं खेलमा च्यासल युथ क्लबसित पराजय भोग्नुपरेको हो ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङ २–० ले पराजित भयो ।
गोलकर्ता
खेलको २४औं मिनेटमा टाइगा नाकामुराले गोल गर्दै च्यासललाई अग्रता दिलाएकामा ‘इन्जुरी’ समयको चौथो मिनेटमा कप्तान सन्तोष साहुखलले गोल गर्दै च्यासललाई जिताए ।
रातो कार्ड
खेलको ९०औं मिनेटमा च्यासलका प्रशिक्षक बालगोपाल साहुखललाई अपशब्द बोलेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए ।
धक्का
यो हारपछि मनाङको उपाधि यात्रामा धक्का लागेको छ । तेस्रो स्थानको मनाङको १० खेलबाट १९ अंक छ ।
पहिलोपटक उपाधि जित्ने लक्ष्यमा रहेको त्रिभुवन आर्मी क्लबको २३ तथा दोस्रो स्थानको मच्छिन्द्र क्लबको २२ अंक छ ।
चौथो स्थानको थ्रीस्टार क्लबको १७, पाँचौं स्थानको संकटा क्लबको १५ तथा छैटौं स्थानको जावलाखेल युथ क्लबको पनि १५ अंक नै छ ।
जावलाखेल १–० ‘बीबीसी’
सोमबारै भएको पहिलो खेलमा जावलाखेलले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)लाई १–० ले पराजित गरेसँगै छैटौं स्थानमा पुगेको हो ।
निर्णायक गोल
जावलाखेललाई जिताउन सुजित बुढाथोकीले ३२औं मिनेटमा निर्णायक गोल गरे ।
न्यूरोड टिम (एनआरटी) पनि १५ अंकसहित सातौं स्थानमा छ ।
मंगलबारको खेल
नवौं चरणको अन्तिम खेलमा मंगलबार दिउँसो ३ बजे एनआरटीले फ्रेन्ड्स क्लबसित खेल्नेछ ।
अंकतालिका
लिगको अंकतालिकामा नेपाल पुलिस क्लब १४ अंकसहित आठौं, च्यासल १२ अंकसहित नवौं, फ्रेन्ड्स ११ अंकसहित दशौं, बीबीसी ८ अंकसहित एघारौं, हिमालयन शेर्पा ७ अंकसहित बाह्रौं, सशस्त्र प्रहरी ५ अंकसहित तेह्रौं तथा सरस्वती युथ क्लब ४ अंकसहित पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस्