Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


देशभरका पुल निर्माणले गति लिन नसकेकोमा सांसदहरुको असन्तुष्टि


0
Shares

काठमाडौं, माघ २० । सांसदहरुले रणनीतिक सडकका पुल र अन्य पुल निर्माणले गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

रणनीतिक सडकका पुललगायत अन्य पुलहरुको निर्माण अवस्थाबारे छलफल गर्न सिंहदरबारमा सोमबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले पुल निर्माणले गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

सत्तारुढ दल नेकपाका सांसद गणेश पडाही, टेकबहादुर बस्नेत र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामबहादुर विष्टलगायतकाले पुल निर्माणमा कामभन्दा कुरा बढी भएको टिप्पणी गर्दै तत्काल समस्या पहिचान गरी समाधानतिर लाग्न माग गरे ।

बैठकमा आमन्त्रित सडक विभागका महानिर्देशक केशव शर्माले बजेट र दक्ष जनशक्तिको अभावले पुल निर्माणमा अपेक्षाकृत प्रगति हुन नसकेको स्वीकार गरे ।

समितिको बैठकमा पुल महाशाखाका प्रमुख दीपक भट्टराईले मुलुकभर जम्मा दुई हजार ९१ ओटा रणनीतिक सडकका पुल निर्माण गर्नुपर्नेमा ४२५ निर्माण सम्पन्न भइसकेको, करिब १६ सय निर्माणाधीन अवस्थामा र केही पुलहरुको निर्माण काबुबाहिरको परिस्थितिमा रहेको जानकारी दिए ।

उनले हालसम्म स्थानीय सडकमा १४३, रणनीतिक सडकमा ६४, हुलाकी राजमार्गमा ८५, मदन भण्डारी राजमार्गमा ६० र मध्यपहाडी लोकमार्गमा ७३ ओटा पुलको निर्माण सम्पन्न भइसकेको जानकारी दिए ।

यस्तै, अहिलेसम्म ९६ ओटा पुल निर्माण व्यवसायीका कारण र ५१ ओटा काबुबाहिरको परिस्थितिका कारण समस्यामा रहेको जानकारी दिए ।

विभागले चालू आर्थिक वर्षमा ३०० ओटा थप पुल निर्माण गरिसक्ने लक्ष्य लिएको छ ।