१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


गड्डाचौकी भन्सार : कम तौल देखाएर भन्सार छली रोकिएन, साना व्यापारीलाई सास्ती


0
Shares

कञ्चनपुर । भन्सार कार्यालय गड्डाचौकीले चेकजाँचमा कडाई गरेको छ । भारतबाट साइकलमा बोकेर नेपाल भित्रिने सामानमा भन्सार छली भएको गुनासो बढेपछि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले चेकजाँचमा कडाई गरेको छ ।

कर्मचारीको मिलेमतोमा सामानको कम तौल देखाएर भन्सार छली भएको गुनासो बढेसँगै भन्सार कार्यालयले चेकजाँचमा कडाई गरेको हो । यसअघि दुई-तीन क्विन्टलसम्म सामान ल्याउने गरिएपनि कर्मचारीले प्रतिव्यक्ति पचासदेखि एक सय रुपैयाँसम्म रकम असुल गरी कम तौलको रसिद काट्ने गरेका थिए ।

तर कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत नकुल शर्मा भने भन्सार छली नभएको दाबी गर्छन् । उनले गड्डाचौकी नाका साइकल क्यारिङ्गकै भरमा चलेको भन्दै आफूहरुले भन्सार छली हुन नदिन प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा चेकजाँचमा कडाइ गरेको बताए ।

यता क्यारिङ्गको सामानमा कडाई गरेपछि सर्वसाधारण भने मर्कामा परेका छन् । उनीहरुले दैनिक प्रयोजनका लागि साइकलमा ल्याएको सामानमा पनि सुरक्षाकर्मीले कडाई गरेको भन्दै दुःख व्यक्त गरेका छन् ।

कञ्चनपुरमा दैनिक दुई सय महिला तथा पुरुषले साइकलमा सामान बोकेर दैनिक गुजारा गर्ने गरेका छन् । नाकामा कडाई गरिएकाले चालु आर्थिक वर्षको हालसम्म ३५ लाख ४६ हजार बराबरको अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल गड्डाचौकीले जनाएको छ ।