Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


एक सातामा १ सय ४३ अंकले बढ्यो नेप्से, लगानीकर्ताको २ खर्ब २ अर्ब सम्पति बढ्यो


104
Shares

काठमाडौं । पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक १४३.४९ अंकले वृद्धि भएको छ ।

गत साताको बिहिबार ३७.८७ अंकले घटेर २ हजार ३ सय ७६ दशमलव ७४ विन्दुमा रोकिएको नेप्से यो साता चार दिनमा तीन भारी अंकले वृद्धि हुँदा परिसूचकले २५ सय बिन्दु पार गरेको छ ।

आइतबार सार्वजनिक बिदा दिएपछि कारोबार बन्द भएको थियो । चार दिन भएको कारोबारमा नेप्से परिसूचक १४३.४९ अंकले वृद्धि भएर २ हजार ५ सय २० दशमलव २३ विन्दुमा रोकिएको छ ।

पछिल्लो एक महिना देखि नेपाली पुँजीबजारमा ठूलो उतार चढाव आइरहेको छ । अझ अघिल्लो साता निरन्तर रूपमा परिसूचकमा गिरावट आउँदा नेप्से २३ सय अंक तल झन् थालेको थियो ।

तर, गत सोमबार नेपाल राष्ट्र बैंकले आयात अत्याधिक रूपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने तथा स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै मंगलबार देखि सेयर बजार उकालो लागेको थियो ।

साताको पहिलो कारोबारको दिन सोमवार नेप्से परिसूचकमा १७.९३ अंकले गिरावट आएको थियो । १७.९३ अंकले गिरावट आएर परिसुचक २३५८.८१ विन्दुमा झरेको थियो । तर, मंगलबार भने नेप्से परिसूचक ५६.७३ अंकले बढेर २४ सय १५.५५ विन्दुमा पुगेको थियो ।

मंगलबार भारी अंकले बढेको नेप्से बुधबार पनि निरन्तरता पायो । बुधवार एकैदिन ९२.१६ अंकले बढेर २ हजार २५ सय ७ विन्दुमा पुगेको थियो ।

नेप्से उकालो लाग्ने निरन्तरसँगै साताको अन्तिम कारोबार विहिबार पनि नेप्से परिसूचक १२.५३ अंकले बढेर २५ सय २० दशमलव २३ विन्दुमा पुगेर बन्द भएको छ ।

नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ । गत साता १ खर्ब २ अर्ब ८२ करोड रुपैयाँ सम्पत्ति गुमाएका लगानीकर्ताले यो साता २ खर्ब २ अर्ब ६ करोड रुपैयाँ सम्पति बढेको छ ।

गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३३ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो । यो साता २ खर्ब २ अर्ब ६ करोड रुपैयाँ सम्पति बढेर ३५ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ ।