
काठमाडौं, माघ १८ । मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
मच्छिन्द्र २–१ सशस्त्र
शनिबारको दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ पराजित गर्दै मच्छिन्द्र शीर्ष स्थानमा पुगेको हो ।
गोलकर्ता
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रका लागि विशाल राई ‘बी’ र रन्जित धिमालले एक/एक गोल गरे । विशालले खेलको ४८औं र रन्जितले ७९औं मिनेटमा गोल गरेका हुन् ।
सशस्त्रले खेलमा सुरुआती अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन । सशस्त्रका लागि ४३औं मिनेटमा रमेश दंगालले एक गोल गरेका थिए ।
मच्छिन्द्रको २२ अंक
जितसँगै मच्छिन्द्र १० खेलबाट २२ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा पुगेको हो । एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा झर्न पुगेको छ । आर्मीको २० अंक छ ।
मच्छिन्द्रसित पराजित सशस्त्र १० खेलबाट ५ अंकसहित १३औं स्थानमा छ ।
थ्रीस्टार ४–० सरस्वती
शनिबारै दशरथ रंगशालामा भएको पहिलो खेलमा सन्जोग राईको सशक्त प्रदर्शनमा थ्रीस्टार क्लबले सरस्वती युथ क्लबलाई ४–० हरायो ।
१०औं चरणको खेलमा पुछारको सरस्वतीमाथि थ्रीस्टारले फराकिलो जित हासिल गरेको हो ।
‘ह्याट्रिक’
चारै गोल मध्यान्तरपछि भएको थियो ।
थ्रीस्टारको जितमा सन्जोगले ‘ह्याट्रिक’ गरे । खेलमा ५७औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका उनले त्यसको तीन मिनेटपछि नै दोस्रो गोल गरेका थिए । ७१औं मिनेटमा अर्को गोल थप्दै सन्जोग जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडीसमेत बने ।
सरस्वतीविरुद्ध थ्रीस्टारका लाल रामार्भाले ४८औं मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए ।
थ्रीस्टार चौथो स्थानमा
जितसँगै थ्रीस्टार १० खेलबाट १७ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित सरस्वती समान खेलबाट ४ अंकसहित ‘रेलिगेसन’ क्षेत्रमा छ ।
एक/एक खेल कम खेलेका साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब र न्यूरोड टिम (एनआरटी) क्रमशः १९ र १५ अंकसहित तेस्रो र पाँचौं स्थानमा छन् ।
आइतबारका खेल
लिगअन्तर्गत् आइतबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लब भिड्नेछन् । दोस्रो खेलमा नेपाल पुलिस क्लबले आर्मीको सामना गर्नेछ । दुवै खेल दशरथ रंगशालामै हुने ‘एन्फा’ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्