
नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)
लुम्बिन्धी, माघ १७ । सारस जैविक विविधताको महत्वपूर्ण पक्षीमात्र होइन, धार्मिक र साँस्कृतिक आस्थाको केन्द्र पनि हो ।
नेपालमा सारसको अनुमानित कुल सख्या करिब ७०० सम्म रहेकोमा लुम्बिनी, कपिलवस्तु र रुपन्देही क्षेत्रमा मात्रै करिब ४०० को हाराहारीमा रहेको जनाएको छ ।
तर, हाल यो चरा विभिन्न कारणले संकटमा परेको छ ।
देवदत्तले घाइते बनाएको सारसलाई सिद्धार्थ गौतमले उपचार गरी कपिलवस्तु, लुम्बिनी क्षेत्रको वनमा छोडेको बौद्ध साहित्यमा उल्लेख छ ।
तसर्थ, यो पक्षीको हजारौं वर्षदेखि प्रकृति, मानवता र बुद्धधर्मसँग प्रगाढ सम्बन्ध रहेको छ ।
विश्वकै दुर्लभ लोपोन्मुख पक्षी सारस सबैभन्दा अग्लो उड्ने चरा हो ।
धेरै वर्ष बाँच्ने र आफ्नो जोडीलाई जीवनको अन्तिम समयसम्म पनि नछोड्ने पक्षी भएकाले प्रेम तथा शान्तिको प्रतीकका रुपमा पनि यसलाई लिने गरिन्छ ।
‘भगवान् बुद्धको चरा’ उपमासमेत पाएको संरक्षित पक्षी सारस अहिले बुद्ध जन्मभूमि लुम्बिनीमा नै संकटमा परेको छ ।
जनसंख्या वृद्धिसँगै बढ्दो सहरीकरण, सडक विस्तार, बाँध निर्माणले गर्दा सारसको बासस्थान खन्डीकरण र नस्ट भइरहेको छ ।
विश्व सम्पदास्थल लुम्बिनी क्षेत्र सारसको मुख्य बासस्थान भएको तर खेतमा विषादीको प्रयोग, सिमसारहरू नासिने, ‘हाइटेन्सन’ बिजुलीको तार, सिमेन्ट कारखाना, मानवीय अवान्छित गतिविधि, वातावरण प्रदूषण र चोरी–सिकारीका कारण यो पक्षी संकटमा परेको हो ।
सारसको एउटा बच्चा दुई हजार रुपैयाँसम्ममा लुकिछिपी बिक्ने गरेको स्थानीयले बताएका छन ।
लुम्बिनी विकास कोषभित्रै सारस संरक्षण क्षेत्र पनि छ । तर, वर्षनि हुने आगजनी, रूख कटानीले यो पक्षीको असुरक्षा र खतरासमेत बढेको छ ।
साहित्यकार रिता मर्हजन सारसलगायतका प्रकृति संरक्षणले मात्र लुम्बिनीको प्राकृतिक अस्तित्व जोगिने बताउँछन् ।
हाल भियतनाम विहार सारसका कारण पर्यटकको आकर्षणको केन्द्रसमेत बनेको छ । विहारमा केही वर्षअगाडि घाइते सारस बसेको र अहिले चार महिनाको बच्चासहितको जोडी बसिरहेको छ ।
हुन त सारसलाई गत वर्ष लुम्बिनीको नगर पक्षीको रुपमा घोषणा गरिएको थियो । अब घोषणाको औपचारिकताले मात्र पुग्दैन, प्रकृतिको अभिन्न अंग सारस र तिनको बासस्थान संरक्षण गरेमात्र लुम्बिनीको सुन्दरता कामय रहने छ ।
यसका लागि स्थानीय वासिन्दा, सरकार, राजनीतिक नेतृत्व र संरक्षणकर्मी सबैको हातेमालो आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्