– धु्रवसागर शर्मा/ ईमेज
म्याग्दी । बेनी नगरपालिका १ मा स्थित रत्नेचौर कृषि पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । चारैतिर उभिएका मनोरम हिमालको बीचमा रहेको रत्नेचौरमा तोरीवारीको पहेलो दृश्यले आकर्षित नहुने सायदै होलान् ।
पर्यटकीय गन्तव्य बन्दै गए पनि सरकारी निकाय भने मौन छन् । तोरी खेतीको हबका रुपमा विकास हुँदै गरेको म्याग्दीको बेनी नगरपालिकास्थित रत्नेचौरमा तोरी बारीमा रमाउनका लागि नै ठाउँठाउँबाट आन्तरिक पर्यटकहरु आउन थालेका छन् ।
बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा फुलेको तोरीले सिँगो गाउँ नै पहेँलपुर बनेको छ । राजा गीर्वाणयुद्धको चिनो स्वरुप रहेको बूढो पोखरी, उत्तरतर्फ चाँदीभै टल्कने हिम श्रृङ्खला, कलकल बगिरहेको कालीगण्डकीलगायतका दृश्यले पनि रत्नेचौर पुग्ने जो कोहीलाई लोभ्याउने गरेको छ ।
अहिले रच्नेचौरको फाँटमा झुलिरहेको गहुँ र तोरी सौन्दर्यमा रमाउन सकिन्छ । ३ सय ७० रोपनी क्षेत्रफलमा गरिएको तोरीखेती हेर्न ठूलो संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेको रत्नेचौर सिँचाइ आयोजनाका सचिव शंकर महतको भनाइ छ ।
अर्कोतिर कृषि पर्यटन विकासको सम्भावना बढ्दै गए पनि सरकारी निकायबाट भने सहयोग हुन सकेको छैन । अहिलेसम्म कृषि ज्ञान केन्द्रलेसमेत कुनै सहयोग नगरेको कृषकको गुनासो छ ।





प्रतिक्रिया दिनुहोस्