काठमाडौं, साउन २० । ऐतिहासिक सफलता हासिल गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान स्वदेश फर्किदैछ ।
पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सफलता हासिल गर्दै टोली सोमबार बिहान ८ बजेर ५० मिनेटमा जेट एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने नेपाली टिमका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए ।
नेपाली टोलीलाई विमानस्थलमा भब्य स्वागत गर्ने तयारी भइरहेको राष्ट्रिय खेलकुद परिषदका प्रेस संयोजक रोहित दाहालले जनाए । उनका अनुसार परिषदका सदस्यसचिव सहितका पदाधिकारी, निलम्बित क्रिकेट संघका पदाधिकारी तथा सरोकारवालाहरु विमानस्थल पुग्नेछन् । स्वागत कार्यक्रमलाई सम्झनयोग्य बनाउने योजना बनाइएको छ । त्यसैगरी युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा पनि टोलीलाई स्वागत गर्न विमानस्थल जानेछन् ।
गत चैतमा पहिलो पटक चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मान्यता पाएको नेपालले पहिलो खेल नेदरल्याण्ड्ससंग खेलेको थियो । दुई खेलको श्रृंखलामा नेदरल्याण्ड्सको मैदानमा नेपालले १÷१ को बराबरी गरेको हो । पहिलो खेलमा ५५ रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा एक रनको सनसनीपूर्ण जित दर्ता गरेको थियो ।
विजेता टिमका सदस्य सन्दीप लामिछाने भने सोमबार फर्कने छैनन् । उनी क्यारेबियन प्रिमियर लिग क्रिकेट खेल्न नेदरल्याण्ड्सबाट वेष्ट इन्डिजतर्फ गएका छन् ।
नेपालले नेदरल्याण्ड्ससँग एक दिवसीय शृंखला खेल्नुपूर्व इंगल्याण्डको लर्डस्मा मेरिलीबोन क्रिकेट क्लव एमसीसीको आयोजनामा त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी खेलेको थियो । वर्षाले प्रभावित खेलमा नेपाल र नेदरल्याण्ड्स संयुक्त रुपले विजयी भएका थिए ।








प्रतिक्रिया दिनुहोस्