
काठमाडौं, मंसिर २९ । आगामी माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा पनि पेशी व्यवस्थावनमा गोला प्रणाली लागु हुने भएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेकको पूर्ण बैठकले सर्वोच्चपछि उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथा प्रणालीबाट पेशी तोक्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले अदालतभित्रको विकृति विसङ्गति हटाउन गोलाप्रथाबाट पेशी तोक्न सुझाब दिएको थियो ।
सर्वोच्च अदालतले गत साउनमा मंसीरदेखि गोला प्रणालीबाट पेशी तोक्ने तयारी गर्न उच्च र जिल्ला अदालतलाई परिपत्र गरेको थियो । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै न्यायाधीश र कानुनव्यवसायीले आन्दोलन सुरु गरेपछि सर्वोच्च हुँदै तिनै तहका अदालतमा गोला प्रणाली लागू भएको हो ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन गरेका न्यायाधीशहरुका पूर्ण बैठकले मंसीर १५ सर्वोच्च अदालतमा गोलाप्रथा लागू गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतमा गोलाप्रणाली लागु भएपछि नेपाल बार एशोसियसनले उच्च र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेशी व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्