४ आश्विन २०८०, बिहिबार | Fri Sep 22 2023


हारे शेखर, तर स्थापित भए


6.864k
Shares

पूनम डिसी

काठमाडौं । नेपाली राजनीतिमा नयाँ अनुहारको बहस चलिरहेका बेला नेपाली कांग्रेसको नेतृत्वमा फेरि पुरानै अनुहार दोहोरिएको छ । कांग्रेसको १४ औं महाधिवेशनले शेरबहादुर देउवालाई फेरि सभापतिको पद सुम्पेको छ । दोस्रो चरणमा सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालालाई पराजित गर्दे देउवा फेरि सभापति बनेका हुन् । पहिलो चरणमा भएको मतदानमा सभापतिमा उम्मेदवारी दिएका कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो ।

दोस्रो चरणमा एक्लै चुनावी मैदानमा भिडेका कोइरालाले देउवालाई समर्थन गरेका विमलेन्द्र निधि र प्रकाशमान सिंहको १५३ मत मत तानेका छन् । सभापति पदमा हारेपनि पनि शेखर कांग्रेसमा स्थापित नेताका रुपमा उदाएका छन् । अब शेखर पार्टीभित्र विपक्षी नेता बनेका छन् । कांग्रेस नेता तथा कार्यकर्ताले जुन रुपमा उनलाई मत दिएका छन् । त्यसलाई उनले पार्टीमा मुखरित गर्नुपर्नेछ । उनले पार्टीमा हारे पनि जिते पनि पार्टी संगठन बलियो बनाउनमा सधैं लागि पर्ने बताउँदै आएका छन् ।

१४ औं महाधिवेशनमा सभापति पदका लागि शेरबहादुर देउवा, डा. शेखर कोइराला, सिंह, निधि र कल्याण गुरुङ निर्वाचनको मैदानमा उभिएका थिए । पहिलो चरणमा पाँच जना उम्मेदवारमध्ये देउवाले २ हजार २५८ मत ल्याएका थिए । कोइराला १ हजार ७०३ मत ल्याएर दोस्रो भएका थिए अन्य उम्मेदवारमध्ये सिंहले ३७१, निधिले २५० र कल्याणकुमार गुरूङले २२ मत प्राप्त गरेका थिए ।पहिलो चरणमा पहिलो र दोस्रो बनेका देउवा र शेखरवीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएपछि निधि र सिंहले देउवालाई समर्थन गरे । शेखरलाई एक्लो पारे ।

तीन जना उम्मेदवारलाई साथमा लिएर प्रतिद्वन्द्वी शेखरलाई ८७८ मतले पराजित गर्दै देउवा दोस्रो पटक सभापतिको कुर्सीमा पुगे । मत गणनाको अन्तिम नतिजामा देउवाले २ हजार ७३३ मत प्राप्त गरे भने कोइरालाले १ हजार ८५५ मत प्राप्त गरे । यस अघि पहिलो चरणको चुनावमा देउवालाई बहुमत पुर्‍याउन ८२ मत अपुग भएपछि दोस्रो चरणको चुनाव भएको थियो । दोस्रो चरणमा कोइराला बाहेक अन्य चारै जना सभापतिका प्रत्यासीहरु एक ठाउँमा उभिएका थिए ।

संस्थापन इतरका मुख्य लिडर रामचन्द्र पौडेलले इतर समूहबाट साझा उम्मेदवार छान्ने अन्तिमसम्म प्रयास गरे तर असफल भए । बरु आफैं सभापतिको उम्मेदवारीबाट पछि हटे । आफ्नैलाई जिताउन उनी पनि पछि हटे तर उनको त्यो त्यागलाई उनकै समूहले बुझेन ।

कांग्रेसमा नेतृत्व परिवर्तन गर्नु पर्छ भन्दा भन्दै पनि त्यो सम्भव हुन सकेन । सार्वजनिक मतपरिणामअनुसार प्रतिनिधिले भने शेखरलाई पत्याए । सिंह र निधिलाई पछाडि पारे । कांग्रेसमा परिवर्तन खोजी रहेका कांग्रेसीको मन त्यतिबेला खिन्न भयो जतिबेला निर्वाचनको पहिलो चरणबाट दोस्रो चरणमा प्रवेश गर्यो । संस्थापन इतरलाई विजयी बनाउने भनेर हिडेकाहरु पनि निराश भए ।जब देउवाको पक्षमा निधि र सिंह उभिए ।

नेतृत्वका लागि निर्वाचनको एक दिन अघि सम्म पनि सिंह र निधि यस पटक जसरी भए पनि देउवालाई पराजित गरी नयाँ अनुहार ल्याउने पक्षमा थिए । निधी र सिंहले देउवाको बिरोध र नेतृत्व परिवर्तनका कुरा गरेपनि अन्तिममा देउवातिरै लागे । उनीहरुले आफूहरु दोस्रो चरणमा पुग्न नसके शेखरलाई साथ दिएर अघि बढ्ने बताउँदै आए पनि अन्त्यमा कतिपयले लेनदेनले गर्दा नै उनीहरु दुवैले देउवालाई साथ दिन पुगेको आशंका गरेका छन् ।

संस्थापन इतरको साख जोगाइराख्न डा. कोइराला भने मैदानमा एक्लै रहे, उनी पराजित भए । कोइराला पराजित भएपनि कांग्रेसमा उनी अब जवर्जस्ती रुपमा उदाएका छन् । पार्टीको केन्द्रीय सदस्य मात्र रहेका कोइरालाको यो उपस्थिती नै अहिले मुख्य चर्चाको विषय बनेको छ । आफ्नैले हराउँदा कोइरालाले हार बेहोर्नु परेको छ । कोइराला परिवारको मियोको रुपमा रहेको कांग्रेसलाई कोइराला परिवारमा फर्काउने अभियानमा कांग्रेस परिवारकै डा शशांका कोइराला र सुजाता कोइरालाले साथ दिएनन् ।

उनै दाजु बिपी पुत्र शशांक तटस्थ बसे भने गिरिजा सुपुत्री सुजाता भने सिंहको प्यानलमा गइन । यसले के देखाउँछ भने नेताहरु परिवर्तन होइन पद र पावरको पछाडि लागे भन्ने आशंका गर्न सकिन्छ । रामचन्द्र पौडेलजस्तै डा. शशांक कोइराला पनि कुनै उम्मेदवारतिर खुलेनन् । तर, कोइराला मतदानमा भने सहभागी भए । चुनावमा शेखरले भाइ शशांकसँग भोट माग्न पनि डा. मिनेन्द्र रिजाललाई पठाउनु पर्यो । शशांकको महाराजगन्जस्थित निवासमै पुगेर मिनेन्द्रले शेखरको पक्षमा खुलिदिन आग्रह नै गर्नुपर्यो । तर, पनि उनी खुलेर आउन सकेनन् ।

सबैका ‘बा’ भनिएका पौडेल निर्वाचनबाट बाहिरिदै गर्दा डा. शेखरलाई कति सहयोग गरे वा गरेनन् भन्ने प्रश्न गर्न गाह्रो हुदैन । के उनी पनि पदकै लोभमा परेका हुन त भन्ने प्रश्न गर्न सकिन्छ ? यसपटकको निर्वाचनबाट कांग्रेसमा नयाँ आउने अनुहार निश्चित थियो तर, आफनै परिवारको असहयोगले इतरले पराजय बेहोर्नु पर्यो भने कोइराला दोस्रो बने ।

कांग्रेसको यो १४ औ महाधिवेशनले डा. शेखरलाई संस्थापन इतर समूहको नेता बनाएको छ भने निधि र सिंहको अबको राजनीतिको बाटो के हो? भन्ने प्रश्न खडा गरेको छ ? संस्थापनइतर समूहका लाखौं युवा नेता तथा कार्यकर्ताको विश्वास जित्न भने कोइराला सफल भए । डा. कोइरालाले हार्नुमा संस्थापनइतर कै मुख्य हात देखिन्छ भन्दा फरक पर्दैन । जे भएपनि अब कोइराला परिवारबाट कांग्रेसमा शेखर उदाएका छन् ।