Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


विप्रेषण आप्रवाहमा पहिलो कतार र दोस्रो भारत


0
Shares

काठमाडौं, माघ १४ । चालू आर्थिक वर्षको चार महिनामा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स कतारबाट भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजानिक गरेको विप्रेषण आप्रवाहसम्बन्धी प्रतिवेदनकाअनुसार विप्रेषण आप्रवाहमा पहिलो कतार र दोस्रो भारत रहेको हो ।

चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकको आधारमा नेपालमा खाडी मुलुकबाट ५०.३ प्रतिशत रेमिट्यान्स भित्रिएकोे छ ।

यसमध्ये सबैभन्दा बढी ५३ अर्ब ९३ करोड रुपैयाँ अर्थात् १७.७ प्रतिशत कतारबाट भित्रिएको छ ।

सोही अवधिमा भारतबाट १४.४ प्रतिशत अर्थात् ४३ करोड १६ लाख तथा यनाइटेड अरब इमिरेट्सबाट ४० अर्ब ८७ करोड अर्थात् १३.४ प्रतिशत भित्रिएको छ ।

साउदी अरेबियाबाट १२.५ र मलेसियाबाट ९.७ प्रतिशतमात्रै विप्रेषण भित्रिएकोे नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रमुख श्रम गन्तव्य मलेसियामा कामदार जानेक्रम बन्द भएकाले यस अवधिमा मलेसियाबाट नेपाल भित्रिने विप्रेषणमा कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

चालू आर्थिक वर्षको चार महिनाको अवधिमा तीन खर्ब चार अर्ब विप्रेषण आप्रवाह भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले कम हो ।

विगत १० वर्षको अवधिमा नेपालको कुल ग्रार्हस्थ उत्पादनको २५ प्रतिशत हिस्सा रेमिट्यान्सले ओगट्दै आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।