५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


आर्मी पुनः शीर्ष स्थानमा, सरस्वतीको पहिलो जित


0
Shares

काठमाडौं, माघ १४ । त्रिभुवन आर्मी क्लब पुनः सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

आर्मी १–० जावलाखेल

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको दोस्रो खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै आर्मी शीर्ष स्थानमा पुगेको हो ।

निर्णायक गोल

आर्मीलाई जिताउन कप्तान भरत खवासले खेलको ७५औं मिनेटमा निर्णायक गोल गरे ।

आर्मीको २० अंक

जितपछि आर्मीको ९ खेलबाट २० अंक भएको छ । १९ अंकबाट मच्छिन्द्र क्लब दोस्रो स्थानमा छ ।

एक खेल कम खेलेको तेस्रो स्थानको मनाङ–मर्स्याङ्दी क्लबको १६ अंक छ ।

सरस्वतीको पहिलो जित 

तालिकामा पुछारमा रहेको सरस्वती युथ क्लबले जारी लिगमा पहिलो जित निकालेको छ ।

सरस्वती ४–३ हिमालयन शेर्पा

मंगलबारै एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबलाई ४–३ ले पराजित गर्दै सरस्वतीले पहिलो जित निकालेको हो ।

गोलकर्ता

सरस्वतीको जितमा काजिम बुसारीले दुई तथा विनोद केसी र मनिष थापाले एक/एक गोल गरे । हिमालयनका आशिष गुरुङ, रवि थापामगर र विजय श्रेष्ठले एक/एक गोल फर्काए ।

सरस्वती पुछारमै

जितसँगै सरस्वतीले ९ खेलमा ४ अंक जोडेको छ । सरस्वती लिगको पुछारमा यथावत् छ । हिमालयन शेर्पा ७ अंकसहित १२औं स्थानमा छ ।

बुधबारको खेल

लिगअन्तर्गत् बुधबार मनाङले मच्छिन्द्र क्लबसित खेल्ने कार्यक्रम छ । खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समै हुनेछ ।