Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


सुदूरपश्चिममा रासायनिक मलको हाहाकार


26
Shares

कञ्चनपुर । समयमै मल ढुवानी नभएपछि कञ्चनपुरसहित सुदूरपश्चिममा रासायनिक मलको हाहाकार भएकको छ । ठेकेदारले मल ढुवानीका लागि सस्तो दरमा सम्झौता गर्ने तर ढुवानी गर्दा पन्छिने गरेका कारण मल आपूर्तिमा समस्या भएको हो ।

भारतबाट रासायनिक मल भित्र्याएसँगै माग अनुसार वितरणका लागि प्रदेश तथा जिल्लास्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पठाउने गरिन्छ ।

तर ढुवानीको जिम्मा लिएको ठेकेदारले भने सुदूरपश्चिमका लागि पठाइएको मल भैरहवा र कपिलवस्तुमै बेच्ने गरेको पाइएको छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङग कर्पोरेशनले मलको आपूर्ति गर्न नसकेपछि आफूहरुले लागतभन्दा बढी मूल्य तिरेर भैरहवाबाट मल ल्याएर कृषकहरुलाई वितरण गर्न बाध्य भएको कञ्चनपुर बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष प्रेम भाटले बताउनुभयो ।

उता, गहुँ सिंचाइ गरेपछि रासायनिक मल हाल्ने बेला हुँदासमेत अहिलेसम्म मल पाउन नसकेपछि कृषकहरु चिन्तित बनेका छन् । जिल्लाका कृष्णपुर, लालझाडी र पुनर्वास क्षेत्रका साहकारीहरुले भैरहवाबाटै मल ल्याएर कृषकहरुलाई वितरण गरेका छन् ।

तर भीमदत्त, बेदकोट र दोधारा चाँदनीमा भने थोरै पनि मल नपाउदा हाहाकार भएको छ । सुदूरपश्चिममा भैरहवा नाकाबाट मल आयात हुने गरेको छ । गहुँको सिजनाका लागि ५ हजार मेट्रिक टन युरिया आवश्यक भएपनि साउन यता ३१ सय मेट्रिक टन मात्रै आएको कृषि सामग्री कम्पनी धनगढीले जनाएको छ ।