Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


गाउँ फर्केर १३ लाख लगानीमा कालिज पालन शुरु (भिडियोसहित)


0
Shares

-विजय नेपाल/ ईमेज 

सिन्धुपाल्चोक, माघ १४ । युवाहरु कामको खोजीमा विदेशने क्रम बढेपछि सिन्धुपाल्चोक थुम्पाखरका केही युवाहरुले गाउँमै बसेर पनि केही गर्न सकिन्छ भन्दै नयाँ व्यवसाय शुरु गरेका छन् ।

युवा व्यवसायीहरुले जिल्लामै पहिलो पटक कालिज पालन गर्न थालेका हुन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६, थुम्पाखरका युवाहरु कालिज पालन व्यवसायतर्फ आकर्षित भएका छन् ।

भगवती वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रा.लि मार्फत कालिज पालन शुरु गरेका युवाहरुले सो व्यवसायको लागि १३ लाखभन्दा बढी लगानी गरिसकेका छन् ।

शुरुमा कालिज राख्ने बलियो खोर बनाउन र चल्ला खरिद गर्न मात्रै १० लाख लगानी गरेका उनीहरुले खोरको स्तरोन्नती तथा दाना खरिद गर्न थप रकम खर्चेका हुन् ।

शुरुमा बढी लगानी परेजस्तो लागेपनि यसको उत्पादन बिक्री हुन थालेपछि भने दुई वर्षभन्दा कम समयमै लगानी उठ्ने र त्यसपछि नाफा हुन थाल्ने उनीहरुको भनाइ छ ।

कालिज पालन गर्न खासै प्राविधिक ज्ञानको आवश्यक नपर्ने र अरु पंक्षीभन्दा मृत्युदर धेरै कम हुने भएकाले आफुहरु यसको पालनमा लागेको प्रा.लि.का अध्यक्ष रामचन्द्र कार्की बताउँछन् ।

सरकारले पछिल्लो समय कालिज पालनमा सहयोग गर्ने समेत नीति लिएकाले आफुहरु उत्साहित भएर यसको पालन गर्न थालेको कार्कीको भनाइ छ ।

अहिले अण्डा तथा चल्ला बिक्री गर्ने उदेश्यले मात्रै माउ कालिज ल्याइएको र यसबाट उत्पादन भएको चल्लाबाट भने मासु प्रयोजनको लागि उत्पादन गरिने कार्की बताउँछन् ।

नेपालमा कालिजको उपचारको लागि छुट्टै जनशक्ति नभएकाले ब्रोइलर कुखुरा विशेषज्ञबाट नै कालिजको उपचार भईरहेको छ ।

प्रतिगोटा तीन हजार पाँच रुपैंया पर्ने कालिजको बिमा पनि ब्रोइलर कुखुराकै मूल्य २५० मा गर्नुपर्ने भएकाले त्यसबाट आफुहरु मर्कामा परेको प्रा.लिका सदस्य मधुसुदन कार्की बताउँछन् ।

राजधानी र अन्य स्थानमा बसोबास गर्दै आएका युवाहरुले यसरी गाउँमै बाझो रहेको जग्गाको उपयोग गरि कृषितर्फ फर्कदा सरकारले पनि उनीहरुको समस्याको समाधानका लागि उपचार र बिमामा विशेष व्यवस्था गरिदिने हो भने अन्य युवाहरुलाई पनि यसतर्फ आकर्षित गर्न सकिने उनीहरुको भनाइ छ ।