Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


नागरिक लगानी कोषले नाफा कमाउने होइन : अर्थमन्त्री


0
Shares

काठमाडौं, माघ १३ । अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषलाई पुँजीबजारमा लगानी विस्तारका लागि मार्गप्रशस्त गर्न लागिएको बताएका छन् ।

उनले कोषले सहायक कम्पनीमार्फत् पुँजीबजारमा लगानी बढाउने र त्यसले बजार विस्तारका अतिरिक्त सुदृढीकरणमासमेत काम गर्ने विश्वास व्यक्त गरे ।

संघीय संसदको अर्थ समितिको सोमबारको बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा अर्थमन्त्री डा. खतिवडाले कोषको सहायक कम्पनी स्थापना गरी पुँजीबजारमा लगानी बढाउने तयारीमा सरकार अगाडि बढेको स्पस्ट पारे ।

छलफलमा अर्थमन्त्रीले कोष मुद्राबजारको संस्था नभइ पुँजीबजारको संस्था भएको उल्लेख गर्दै ‘मार्केट मेकर’ अत्यावश्यक भएकाले पनि त्यसतर्फ केन्द्रित हुन लागेको बताए ।

अर्थमन्त्रीले सहायक कम्पनीमार्फत् कोषले पुँजीबजारमा मार्केट मेकरको काम र त्यसका लागि कोषको तीन अर्ब पुँजी पर्याप्त हुने उल्लेख गरे ।

लगानीकर्ताको हितका लागि स्थापना गरिएको कोष वाणिज्य बैंकजस्तो नरहेको र ट्रष्टी पनि नभएको उनको भनाइ थियो ।

उनले कोष सामान्य नाफामूलक सार्वजनिक संस्था भएको र संकलन गरिएको रकमको सुरक्षित लगानी गर्ने निकायमात्रै भएको जानकारी दिए ।

कोष वाणिज्य बैंकजस्तो नाफा कमाउने संस्था त होइन । तर, लगानी सुरक्षित भने हुनुपर्ने अर्थमन्त्री खतिवडाले उल्लेख गरे ।