एमाले र कांग्रेस महाधिवेशन भीड जम्मा गर्ने थलो भयो : अध्यक्ष दाहाल « Image Khabar


एमाले र कांग्रेस महाधिवेशन भीड जम्मा गर्ने थलो भयो : अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र कांग्रेसको महाधिवेशन भीड जम्मा गर्ने थलो भएको बताउनुभएको छ ।

शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले नेकपा(एमाले) र नेपाली कांग्रेसको अधिवेशनमा विचार र सिद्धान्तको बहस नभएको भन्दै टिप्पणी गर्नुभएको हो ।

एमाले अधिवेशनलाई पञ्चर्‍यालीको संज्ञा दिँदै उहाँले एमाले अधिवेशन विचार हिनताको र विचार शून्यताको अधिवेशनको रूपमा सम्पन्न भएको बताउनुभयो ।

त्यस्तै अहिले चलिरहेको नेपाली कांग्रेसको अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै आलोचना गर्नुभयो ।

अध्यक्ष दाहालले माओवादी पार्टीभित्र वैचारिक अस्पष्टताका कारण गुटबन्दी र अराजकता लगायतका समस्या देखिएको बताउनुभयो । पार्टी भित्र विचारको समस्या रहेको र गन्तव्य स्पष्ट नभएको उहाँको भनाई छ ।

दाहालले आगामी राष्ट्रिय सम्मेलनबाट २१औं शताब्दीलाई सुहाउँदो नयाँ विचार लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने पनि बताउनुभयो ।

अध्यक्ष दाहालले माओवादी अस्पष्ट भएका कारण हेपिनुपरेको भन्दै माओवादीलाई हराउने तागत नेपालमा कसैको नभएको दाबी गर्नुभयो । अध्यक्ष दाहालले आगामी चुनावमा एक नम्बर पार्टी हुनेगरी आक्रामक रूपले प्रस्तुत हुन नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।