७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


थ्रीस्टारलाई हराउँदै मच्छिन्द्र शीर्षमा, पुलिसद्वारा सशस्त्र पराजित


0
Shares

काठमाडौं, माघ १३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधि दावेदार मच्छिन्द्र क्लब शीर्ष स्थानमा पुगेको छ ।

मच्छिन्द्र २–० थ्रीस्टार

सोमबार दशरथ रंगशालामा भएको खेलमा अर्को दावेदार टोली थ्रीस्टार क्लबमाथि २–० को जित निकाल्दै मच्छिन्द्र अगाडि लागेको हो ।

गोलकर्ता

मच्छिन्द्रलाई जिताउन खेलको ३८औं मिनेटमा रेजिन सुब्बाले तथा ९०औं मिनेटमा विशाल राईले एक/एक गोल गरे ।

मच्छिन्द्रको १९ अंक

जितले मच्छिन्द्रको उपाधि दावेदारी बलियो भएको छ भने हारले थ्रीस्टारको उपाधि यात्रा कठिन बनेको छ ।

मच्छिन्द्र ९ खेलबाट १९ अंकसहित शीर्ष स्थानमा पुगेको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब १७ अंकसहित दोस्रो स्थानमा छ ।

साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब १६ अंकसहित तेस्रो स्थानमा छ । १४ अंकको थ्रीस्टार चौथो स्थानमा यथावत् छ ।

पुलिस १–० सशस्त्र

नेपाल पुलिस क्लब १४ अंकबाटै पाँचौं स्थानमा पुगेको छ ।

सोमबारै दशरथ रंगशालामा भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिस पाँचौं स्थानमा पुगेको हो ।

निर्णायक गोल

पुलिसलाई जिताउन कप्तान भोलानाथ सिलवालले खेलको १३औं मिनेटमा निर्णायक गोल गरे ।

रातो कार्ड

खेल सकिएपछि सशस्त्रका सुदीप शिख्राकारले रातो कार्ड पाएका थिए । रेफ्री प्रकाशनाथ श्रेष्ठलाई अभद्र व्यवहार गरेपछि उनले रातो कार्ड पाएका हुन् ।

पराजित सशस्त्र ५ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

मंगलबारका खेल

लिगअन्तर्गत् मंगलबार हिमालयन शेर्पा क्लबले मध्याह्न १२ बजे सरस्वती युथ क्लबसित तथा दिउँसो ३ बजे आर्मीले जावलाखेल युथ क्लबसित खेल्नेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।