१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


मेरो अभियान सवल र सक्षम कांग्रेस बनाउने हो : लेखनाथ पोख्रेल (अन्तर्वार्ता)


52
Shares

लेखनाथ पोख्रेल कांग्रेसका युवा नेता हुनुहुन्छ । पोख्रेल हाल अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका अध्यक्ष समेत हुनुहुन्छ । अहिले सो गाउँपालिका नेपालकै नमूना गाउँपालिकाका रुपमा समेत चिनिन्छ । लामो समय विद्यार्थी राजनीतिमा विताउनु भएका पोख्रेल नेपाल विद्यार्थीसंघको कार्यवाहक सभापति समेत बन्नु भएको थियो । अहिले भने उहाँ पार्टी राजनीतिमा लाग्नु भएको छ । काठमाडौंमा शुरु भएको कांग्रेसको १४ महाधिवेशनमा उहाँले लुम्विनी प्रदेशबाट संस्थापन इतर समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । पोख्रेलसँग इमेजखबरले गरेको कुराकानीको सम्पादित अंश :

केन्द्रीय सदस्यमा तपाइँले उम्मेदवारी दिनुको कारण के हो ?

मेरो उम्मेदवारी सवल र सक्षम कांग्रेस निर्माणका लागि हो । त्यस्तै कांग्रेसलाई पुस्ता मिश्रणको कांग्रेस बनाउनुपर्छ भन्ने हो । १४ औं महाधिवेशनबाट आउने नेतृत्वले मुलुकलाई नयाँ दिशा दिनुपर्छ । स्थानीय,प्रदेश र संघीय तीनै तहमा लोकतान्त्रिक सरकारको स्थापना हुनुपर्छ र नेपालको आर्थिक अवस्थालाई उकास्न व्यवहारिक रुपमा काम गर्नु पर्छ भन्ने सोच मेरो छ ।

कांग्रेसमा पुस्तान्तरणको कुरा गर्दा १४ औं महाधिवेशनले फेरि पुरानै पुस्ताका नेताहरु नेतृत्वमा आउने जस्तो देखिएको छ नि त ?
मेरो विचारमा पुस्तान्तरण भन्दा पनि कांग्रेसलाई मिश्रित पुस्ताका रुपमा अघि बढाउनु पर्छ । पाका नेताहरु भएपनि हाम्रो पुस्ताका नेताहरु पनि केन्द्रीय समितिमा जानुपर्छ । जसले सवल र समृद्ध कांग्रेस निर्माण हुन्छ । मेरो उम्मेदवारी त्यसैका लागि हो ।

कांग्रेसमा गुट उपगुट देखिएको छ यसले कसरी तपाइँले भनेजस्तै सवल कांग्रेस बन्छत ?
यो महाधिवेशन त कांग्रेसको नितान्त आन्तरिक प्रतिस्पर्धा हो । यसलाई गुट उपगुट भनेर हेर्नु हुँदैन । कांग्रेस लोकतान्तिक पार्टी भएकाले नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा हुनु स्वभाविक हो । महाधिवेशन पछि हामी सबै एकै ठाउँमा हुन्छौ र कांग्रेस एक ढिक्का हुन्छ ।

३ औं महाधिवेशनमा शेरबहादुर देउवा सभापति बन्नुभयो, १४ औं महाधिवेशनसम्म आइपुग्दाआइपुग्दा उहाँको नेतृत्वको कांग्रेसलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
उहाँले कांग्रेसलाई समय सापेक्ष अघि बढाउन सक्नु भएन । यो महाधिवेशनले अव नेतृत्व परिवर्तन गर्नुपर्छ । महाधिवेशन प्रतिनिधिले त्यसमा ध्यान दिनुपर्छ ।