Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


रसुवागढी नाकाबाट हुने झोले र पोके सामान आयातमा प्रतिबन्ध


0
Shares

रसुवा । उत्तरी नाका रसुवागढीबाट बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्न प्रतिबन्ध गरिएको छ ।

भन्सार कार्यालय टिमुरेले ६८ औँ विश्व भन्सार दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा घरेलु प्रयोजन भन्दै झोला पोकामा सामान आयात बृद्धि भएपछि प्रतिबन्ध लगाइएको जानकारी दिइयो ।

कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्न प्रतिबन्ध गरिएको बताए । उनले शुल्क नतिरी ल्याइएका सबै खाले झोले पोके व्यापारीको सामान जफत गरिने बताए ।

स्थायी लेखा नम्बर र वाणिज्य दर्ता प्रमाणपत्र लिई आयातनिर्यात गर्न चाहने सबै व्यक्तिलाई सम्पर्क राख्न  कार्यालयले आग्रह समेत गरेको छ ।

सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं  राजश्व चुहावट नियन्त्रण २१ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले बिना इजाजतका झोले पोके व्यापारी नियन्त्रण गरिने बताए ।

यही माघ १० गतेसम्म आयातनिर्यात भएका सामग्रीबाट भन्सार शुल्क कूल १९ अर्ब ७२ करोड ६४ लाख ४५ हजार राजश्व आर्जन भएको  कार्यालयले जनाएको छ । रासस