कांग्रेस सच्चिने कि सिद्धिने ? « Image Khabar


कांग्रेस सच्चिने कि सिद्धिने ?


13
Shares

पेशल आचार्य
सात दशकभन्दा धेरै समयदेखि नेपाली राजनीतिमा क्रियाशील पार्टी नेपाली कांग्रेस यतिखेर कोमामा छ । उसो त भन्नलाई उसको दर्शन छ । नीति छ । कार्यक्रम छ । दसौं लाख कांग्रेस कार्यकर्ताहरू छन् । देशव्यापी संगठन छ । अनि छ कम्युनिष्टहरूको दह्रो विकल्प ।

यो उसले त्यसै प्राप्त गरेको होइन । उसलाई विराशतमा पनि आएको होइन । यसका लागि उसले विगत्मा धेरै जोखिम उठाएको छ । बगावत गरेको छ । अनि धेरैभन्दा धेरै नेता र कार्यकर्ताहरूले सहादत भोगेका छन् । जेलनेल र प्रवासमा दुःख पाएका छन् ।

बीपी, सुवर्ण, गणेशमानजी, किसुनजी, गिरिजा, सुशील र शैलजाहरूको रगत र पसिनाले सिँचित राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याती कमाएको पार्टी आजकिन मणि हराएको सर्प बन्दैछ ?

आज किन ओज खुइलिएको इतिहास बन्दैछ ? यसको आधिकारिक जवाफ कांग्रेसका सकलदर्जाका पदाधिकारी अझ वर्तमान सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शेखर कोइराला, विमलेन्द्र निधि, डा.सशाङ्क कोइराला, कृष्णप्रसाद सिटौला र गगन थापाहरूले दिनुपर्छ ।

नेपाली कांग्रेसका क्यारिष्मेटिक नेता तथा लाखौं युवाहरूका ढुकढुकी गगन थापाले औपचारिक रूपमै भनिसकेका छन् –‘अब पनि कांग्रेस नसुध्रिने हो भने सिद्धिन्छ ।’ यो गहन वाक्यभित्र धेरै ठूलो अर्थ र रहस्य लुकेको छ ।

अहिले कांग्रेसमा नेतृत्व परिवर्तनको कुरो जोडतोडले उठेको छ । पौडेल, शेखर, निधि, डा.सशाङ्क र प्रकाशमान सबै मिलेर यतिखेर देउवालाई सभापतिबाट हराउन सकेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न सके भने कांग्रेसमा सुद्धीकरणको युग आरम्भ हुन्छ । नत्र उही टालटुले परम्परामा चलेर देउवालाई नै सभापति बनाएर जसो–जसो बाहुन बाजे उसै–उसै स्वाहा गर्ने हो भने त पुरानै बोतलमा पुरानै रक्सी भनेझैँ भैहाल्यो नि !

केही दिनअघि चितवनमा एमालेले सानदारसँग महाधिवेशन सम्पन्न ग¥यो । तर, भन्नेका मुख कसैले थुन्न सकेनन् । यो कुराको डिजाइन ओलीले ६÷८ महिना अघिदेखि नै गरेका थिए जसले गर्दा उनलाई आगामी चार वर्षका लागि अध्यक्ष हुन बाह्र हातको ठाँगेले पनि छोएन ।

‘ओलीले माधव एण्ड कम्पनीहरूलाई भित्तामै पुग्ने गरी पेलान् गरेको कारण पनि अहिलेको दिन ल्याउनका लागि हो । आफू मात्रै भएपछि त्यो क्लबको महाधिवेशझैँ भयो । न रहे बाँस न बजे बाँसुरी एकादुई भीम रावल, घनश्याम भुसालहरू जस्तालाई त उनले उहिले ह्याकुलाले पेलेका हुन् अहिले पनि पेले । कौन सा नयाँ र ठूलो कुरा भयो र ?’ एमालेकै एक केन्द्रीय स्तरका नेता दुःखेसो पोख्छन् ।

जसपाका केन्द्रीय सदस्यतथा राजनीतिक विश्लेषक डम्बर खतिवडा आफ्नो सटिक टिप्पणीमा लेख्छन् –‘एक व्यक्ति, एक पद, दुई कार्यकाल, लोकतन्त्रको जीवनन्नता, गतिशीलता र पवित्रताका लागि सबै दलमा आवश्यक छ । आजीवन आ–आफ्नो गुटको नेतृत्व हत्याएर बस्ने नेताहरूले सोचुन् । दशकौंमा एक योग्य उत्ताराधिकार जन्माउन नसक्ने विचार, आन्दोलन, पार्टी र नेता सर्वाधिक बाँझो जमिन जस्तै हो ।’

कांग्रेसभित्रको रोइलो पनि त्यस्तै हो । अहिले देउवाले आफू पुनःपाँच वर्षका लागि सभापतिमा स्थापित हुन साम, दाम, दण्ड र भेद चारवटै नीति अवलम्बन गरिरहेका छन् । उनलाई एमसीसी पास गराउनका लागि चर्को दबाव छ ।

ओलीले त सो पास गर्नका लागि हरी झन्डीसमेत देखाइसकेका छन् । अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू त्यसैले पनि यथास्थितिमै नेतृत्वको वागडोर राखिरहन चाहन्छन् भन्ने एमालेको नेतृत्व परिवर्तन नभएकोबाट एकपटक पुष्टि भइसकेको छ भने पुनःकांग्रेसको पुरानै नेतृत्वको हातमा पार्टीको वागडोर सुम्पिन भूमिका खेलिरहेछ ।

अनि ?, राप्रापामा भएको के त ? त्यहाँ नेतृत्व परिवर्तन भयो नभन्नु होला । हो, उसको कुरो अर्कै छ । नागरिक भइसकेका ज्ञानेन्द्रका छोरा पारस शाहले आफ्नो फेसबुक पेजमा लेखे अनुसार– ‘राजा र नेतामा के फरक छ ? भन्नेहरूले ज्ञानेन्द्र र कमल थापालाई हेरे पुग्छ । राजगद्दी छोड्दा बर्बराएनन् राजा तर नेता कमल थापाले सन्तुलन गुमाएझैैँ गरिसके ।’

अर्का राजनीतिक विश्लेषक भरत दहाल लेख्छन्– ‘कमल थापा…विदेशीहरूसँग पैसाको मोलतोल नमिल्दासम्म १२ बुँदे मुर्दावाद । सौदाबाजीबाट सन्तुष्ट भएपछि ‘संसारकै उत्कृष्ट संविधान !’ दरबारको नामजपेर खेल्ने गुन्जाइस हुँदासम्म ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र’ राप्रपाको चुनावमा उत्तानो परेपछि हस्तक्षेपकारी ‘ज्ञानेन्द्र शाह !’

यो कुरालाई लेखक राजेन्द्र पराजुलीको भनाइले समेत पुष्टि गर्दछ –‘कमल थापाले आफ्नो हारको दोष निर्मल निवास र खासगरी पूर्वराजा ज्ञानेन्द्रलाई लगाए । उनका भाइ गणेश थापाले त खुल्लेआम राजाका सचिवहरू यो खेलमा लागेको मिडियामा बताएका छन् ।

राप्रपा नामको पार्टीका ती दुई दाजुभाइले यसरी सोझैँ ज्ञानेनद्रमाथि आरोप लगाउने हिम्मत के कारणले गर्न सके होलान् ? यसको मुख्य कारण हो, यो देशमा लोकतान्त्रिक गणतन्त्र छ । अहिले पञ्चायत वा राजाको शान हुँदो हो त विचरा थापाकाजीहरू के भन्थे होलान् ? कसलाई आरोप लगाउँथे होलान् ?’

एमाले कै अर्का युवा कार्यकर्ता तथा कानुन व्यवसायी झम्क कडेँल– ‘…बरू राप्रपाको महाधिवेशनले पो ! राजनैतिक बजारमा नयाँ हलचल ल्यायो त !’ उनी अझअघि लेख्छन्– ‘अब आउने २÷३ वर्ष जति नेपालमा मार्क्सवाद लेलिनवाद ओझेल पर्ने छ किनकि त्यसको ठाउँ ‘बा’वादले लिने छ ।’

यो कुरा सोह्रै आना अहिले कांग्रेसमा पनि कपी पेष्ट गरेर लागू भएको छ । यसका विरुद्ध नेपाली कांग्रेसका निष्ठा र विचार बोकेका कार्यकर्ताहरूले बगावत नगर्ने हो भने उही गगन थापाले भनेझैँ कांग्रेसको एउटै उपाय सिद्धिने हो ।

समयले नै उसलाई सिध्याउने दाउ पर्खिरहेको छ । नत्र यसरी उसकै नेताहरू यो महाधिवेशनका बीचमा यसरी दुखद् अन्त्यका बारेमा दुर्वाच्य बोल्ने थिएनन् होलान् ? नयाँ पुस्ताले अहिले सबैतिर पार्टीमा मेनेजरियल पुस्ता खोजिरहेको छ । ऊ शासन होइन आफ्ना नेताहरूबाट मात्र व्यवस्थापन चाहन्छ । चुस्त व्यवस्थापन ।

यसका लागि दन्त्य कथामा भनेझैँ बिरालोको घाँटीमा घन्टी बाँध्ने आँट निकालेर अनि सबै मिलेर देउवाका विरुद्धमा मोर्चा बन्दी गरेर अहिलेलाई नयाँ मान्छेलाई सभापतिमा चुन्ने हो । तर यो सामान्य आँटले अहिले होला जस्तो देखिएको छैन । देउवासँग पनि सत्ताको राप, ताप र दाप छ ।

उनले आफ्नो तिकड्म लगाउन सुरु गरिसकेका छन् । यदि फेरि उनले जिते भने कांग्रेस पुरानै ढंग र ढर्रामा हिँड्ने पार्टी रहिरहने छ । अनि समृद्धि र विकासको नारा जति लगाए पनि उही ओली, उही शेरबहादुर, उही प्रचण्ड र माधव नेपाल मिलेर ल्याउने परिवर्तनले हामीलाई मात्र वृत्तमा घुमाइरहनेछ ।