Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


जातिय विभेद अन्त्यका लागि ब्राह्मण–क्षेत्री समुदायका महिलाहरु पञ्चेबाजा बजाउन सिक्दै


0
Shares

ध्रुवसागर शर्मा (ईमेज)

म्याग्दी, माघ १२ । ब्राह्मण–क्षेत्री समुदायका महिलाले बाजा छुनुहुँदैन भन्ने परम्परागत मान्यता अझै पनि हाम्रो समाजमा विद्यमान छ ।

तर म्याग्दीको बेनी नगरपालिका–४,राक्सेमा यो मान्यतालाई तोड्दै ब्राह्मण–क्षेत्री समुदायका महिलाहरु पञ्चेबाजा बजाउन व्यस्त छन् । म्याग्दीको बेनी नगरपालिकाअन्तर्गतको राक्सेमा बारीका पाटामा मुखले फुकेर सहनाई बजाइरहेकी अगुवा हिरा पौडेलको नजिकै दुर्गा पौडेलले ढोलकी बजाउँदै थिइन् ।

उनीजस्तै करिब एक महिनादेखि पौडेलले घरायसी काम सक्ने वित्तिकै हतार–हतार खेतमा पुग्ने गरेका राक्सेका महिलाहरु दैनिकजसो दमाह, ट्याम्को, कर्णाल र नरसिंङ्गा जस्ता विभिन्न थरीका बाजाहरुमा आफ्नो मेहनत गरिरहेका देखिन्छन् ।

१० जना महिलाको सहभागिता रहेको तालिममा सनैको सुरिलो लय त्यसपछि ढ्लकी, ट्याम्कोे दमाहा लगायतका बाजासँगै आकाशतिर फर्काएर नरसिङ्गाको धुनले सिंगो गाउँ नै आर्कषित भएको नौमति बाजा समुह राक्सेकी अगुवा हिरा पौडेल बताउँछिन् ।

सुरुवातमा केही असहज भए पनि अहिले भने यसमा आकर्षण बढ्दै गइरहेको र यसलाई सीप हस्तान्तरणको अभियानका रुपमा लिएको बताइएको छ ।

त्यसको लागि १ लाख ४२ हजार रुपैयाँकोे लागतमा खरिद गरेका बाजा सिक्दै गरेका महिलाले दलित र गैरदलित समुदायको सहकार्यमा थालिएको अभियानमा महिलालाईसमेत पञ्चेबाजा बजाउन अब्बल बनाउने उद्देश्य लिइएको छ ।

मनदेखि नै इच्छाशक्ति भएकाहरु त परिवारका सदस्यले विरोध गर्दागर्दै पनि यस अभियानमा सरिक देखिन्छन् । यसबाट नकारात्मक असर पारिरहेको परम्परागत सोचलाई तोड्ने प्रयास भएको अधिकांश महिलाको भनाइ छ ।

नौमति बाजा समुह नै बनाएका महिलालाई प्रकाश परियारले प्रशिक्षण दिइरहनुभएको छ । प्रशिक्षक परियारका अनुसार म्याग्दी जिल्लामा ब्राह्मण र क्षेत्री महिलाले पञ्चे र नौमति बाजा बजाउन सिकेको यो नै पहिलो अभियान होे ।

बाजामा दमाई जातिका मानिसको नै वर्चस्व हुने गरेको अवस्थामा ब्राह्मण, क्षेत्री, दमाई, कामीले संयुक्त रुपमा बाजा सिक्नुलाई समाजमा परिवर्तनको एउटा उदारहणको रुपमा लिइएको छ ।