Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


बारको विरोध आज पनि जारी, प्रधानन्यायधीशको सवारी र सुरक्षा खोस्न वकिलहरूको माग


0
Shares

काठमाडौं । नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ ।

बुधबार पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको राजीनामा माग गर्दै कानून व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाउनुभयो ।

उहाँले प्रमुख राजनीतिक दलहरूलाई भेट्दा पनि सबैले उनको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि उप्रेतीले सरकारले तत्काल प्रधानन्यायाधीशलाई दिइरहेको सवारीसाधनको सुविधा र सुरक्षाको सुविधा खोस्नुपर्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीशले पदअनुसार काम गर्न नसकेको भन्दै अब प्रधानन्यायाधीशलाई सरकारी सुविधा दिइरहनु नपर्ने बताउनुभयो ।

वरिष्ठ अधिवक्ता उप्रेतीले भन्नुभयो, ‘मलाई लाग्छ संसारको कुनै पनि देशको मुद्दाको पेशी पनि तोक्न नपाउने, मुद्दा हेर्न पनि नपाउने अरु सहयात्री न्यायाधीशहरुसँग बस्न पनि नपाउने, फैसला गर्न पनि नपाउने भएर बस्ने पनि दुनियाँमा प्रधानन्यायाधीश हुन्छ । यो प्रधानन्यायाधीश एउटा मूर्ति बसेको खालको मात्रै हो ।’

आफ्नो भूमिका निर्वाह गर्न नसक्ने र विवादास्पद छवि बनाइसकेको मानिस विश्वमा कतै पनि प्रधानन्यायाधीश नभएको स्मरण गराउँदै उहाँले सरकारी सुविधा र सुरक्षा खोस्न आग्रह गर्नुभयो ।

वरिष्ठ अधिवक्ता उप्रेतीले पदीय आचरण अनुसार काम गर्न नसकेको भन्दै प्रधानन्यायाधीश जबरालाई तत्काल राजीनामा दिन दवाव दिनुभयो ।