Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


८ लाख घुस रकमसहित गाउँपालिका अध्यक्ष पक्राउ


0
Shares

जाजरकोट, माघ १० । जाजरकोटको जुनीजाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख रूपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले गाउँपालिका अध्यक्ष केसीलाई ८ लाख रूपैयाँ घुस लिएको आरोपमा शुक्रबार सुर्खेतबाटै पक्राउ गरेको हो ।

बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन र प्रदेश विकास परिषद्को बैठकमा भाग लिन सुर्खेत झरेका अध्यक्ष केसीलाई उपभोक्ता समितिबाट ८ लाख रूपैयाँ घुस लिएको सूचनाका आधारमा रंगेहात पक्राउ गरिएको अख्तियारको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

खड्कासँगै सो गाउँपालिकाका उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर बस्नेत पनि पक्राउ परेका छन् ।

उनीहरूलाई वीरेन्द्रनगर नगरपालिका–७, कटकुवा हेल्थपोस्टनजिकबाट ८ लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।

उनीहरुले गाउँपालिकाको वडा नम्बर–५ मा उपभोक्ता समितिमार्फत् निर्माण गरिएका सडकको बिल भुक्तानीका लागि घुस मागेको अख्तियारको आरोप छ ।

केसी तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।