नरेन्द्र मानन्धर
काठमाडौं । २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त सम्पदा पुननिर्माण हुन सकेका छैनन् । अझ पुननिर्माणको जिम्मेवारीमा रहेको पुरातत्व विभाग र ठेकेदारबीचको असमझदारीका कारण सम्पदा खण्डहरमा परिणत हुँदा समेत कसैको चासो पुगेको छैन ।
महाभूकम्पको कारण धेरै मठमन्दिर, गुम्बा र विहारहरु क्षतिग्रस्त बने । ६ वर्षको दौरानमा धेरै यस्ता सम्पदा पुनःनिर्माण पनि भए । तर, पनि विभिन्न कारण सम्पदा पुनःनिर्माण पनि हुन सकेको छैन । यसैको एउटा पछिल्लो प्रमाण हो– ललितपुरको शंखमूलमा रहेको जगतनारायण मन्दिर ।
मन्दिरमा रहेको मूल मूर्ति नारायण, लक्ष्मी र श्रीदेवीको मूर्ति भुकम्पले क्षति भई हाल राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको छ । मन्दिर पुनःनिर्माणको क्रममा पुरातत्व विभाग र ठेकेदारबीचको असमझदारीका कारण मन्दिर खण्डहरमा परिणत भएको छ । मन्दिरको जग भग्नावषेश भएको छ भने चारैतिर झारपातले पुरिएको छ ।
गणेश, गरुड र हनुमानको मूर्तिमा झारपात झाँगिएर छ । सिंहहरु र घण्टा पूरै छोपिएको छ । कलात्मक काठको झयाल, टुँडाल र थाम लगायतका पुरातात्विक सामाग्री घामपानीले मक्किएको छ । घामको प्रकाश परेपछि सिन्दुर रंगमा टल्किने सिंगमरमरको हनुमान मूर्तिमा पिपलको बोट झाङ्गिएर पुरै छोपिसकेको छ ।
सत्तलहरू जीर्ण बनेका छन् । भुतघरजस्तै बनेको छ । पुरातत्व विभागले ठेकेदारलाई पुनःनिर्माण जिम्मा दिएको थियो तर दुवैबीचको असमझदारीले यस्तो अवस्था आएको हो । उल्टै निर्माण कम्पनीले विभागलाई मुद्दा हालेको छ जगदगुरु आश्रमका सहायक प्राचार्य दीपक पोखरेल बताउनुहुन्छ ।
अब अदालतको फैसलापछि मात्र १ सय ७० वर्ष पुरानो मन्दिर पुन निर्माणको बाटो खुल्छ । यस अवधिसम्म कसरी खुल्ला आकासमा रहेको र घामपानीबाट पुरातात्विक महत्वका सम्पदा बचाउने यसबारे सरोकार निकाय सम्वेदनशील देखिँदैनन् ।
ठेकेदार र पुरातत्वबीचको जुँगा लडाइँले देशको अमूल्य सम्पदा खण्डहरमा परिणत हुनु दुःखद् हो । अदालतको आदेश आउन्जेलसम्म त्यहाँका भौतिक संरचनाको जिम्मेवारी कसले लिने ?
प्रतिक्रिया दिनुहोस्