सीता पाण्डे/ईमेज
पाल्पा । भ्रमण वर्षको अवसरमा पाल्पाको धार्मिकस्थल रम्भादेवी भगवती मन्दिरलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा राखेपछि पर्यटन पूर्वाधार निर्माणले गति लिन थालेको छ ।
धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका सो क्षेत्रको पूर्वाधार निर्माणमा स्थानीय र प्रदेश सरकारको चासो बढेको हो । सरकारले एक सय पर्यटकीय गन्तव्यमा पाल्पाको रम्भा गाउँपालिकास्थित रम्भापानी क्षेत्रलाई समेटेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ ।
सदरमुकाम तानेसनबाट ३१ किलोमिटर पूर्वमा र समुन्द्र सतहदेखि करिब ४३०० फिटको उचाइमा अवस्थित यस क्षेत्रमा धार्मिक पर्यटकदेखि वन तथा वन्यजन्तु अवलोकनकर्ता समेत पुग्ने गरेका छन् ।
दैनिक सयाँैको संख्यामा पर्यटक आउन थालेपछि मन्दिर व्यवस्थापन समितिले पनि सक्रियता बढाएको छ । विहानदेखि साँझसम्म मन्दिर खुला राख्न समिति पुजेरी आवासगृह निर्माणमा जुटेको छ ।
मन्दिर परिसरमा कम्पाउण्ड वाल सहित तारबार गर्ने, शौचालय र प्रतिक्षालयजस्ता आधारभूत पूर्वाधार निर्माणमा लागेको मन्दिर संरक्षण समितिका अध्यक्ष विनोद श्रेष्ठको भनाइ छ ।
यस मन्दिरमा पूजासँगै बली दिने प्रचलन पनि रहेको छ । मनोकामना पूरा हुने विश्वासमा पनि यस मन्दिरमा दर्शनार्थी आउने गरेका छन् ।
भगवान रामले वनबासको क्रममा पत्नी सिताको तिर्खा मेटाउन वाँण हानेर पानी निकालेको कारण यो मन्दिरको नाम नै रम्भापानी रहन गएको जनश्रुति रहेको छ ।
यहाँबाट सुन्दर हिमालका दृश्य, विभिन्न किसिमका लोपोन्मुख वनस्पतीको सुन्दरता अवलोकन गर्न पनि पर्यटक जाने गरेका छन् ।
रम्भादेवी मन्दिर क्षेत्रको जगंलमा प्राकृतिक दुर्लभ जडीबुटी र बनस्पतीहरू पाइने भएकाले पर्यावरणीय पर्यटनको पनि राम्रो सम्भावना छ ।
वनस्पतीहरूको नामाकरण गर्ने र बनस्पती विज्ञान अध्ययन गर्ने विद्यार्थीहरूको गन्तव्यस्थल बनाउने योजना रहेको छ । रम्भापानी बाकुमगढी किल्ला, ऋषिहरुको पवित्र तपोभूमि रिमिघालेक लगायतका प्राकृतिक रमणीय स्थानहरू रहेका छन्





प्रतिक्रिया दिनुहोस्