नरेन्द्र मानन्धर र सुन्दर गुरुङ (इमेज)
काठमाडौं, माघ ८ । विनाशकारी ‘गोरखा भूकम्प’ले पूर्णरुपमा क्षतिग्रस्त भएको पशुपति क्षेत्रमा रहेको विश्वरुप मन्दिर पाँच वर्ष बितिसक्दा पनि पुनःनिर्माण भएको छैन ।
मन्दिरमा रहेको मूर्ति खिइँदै छ भने कलाकृतिहरु पनि बिग्रिँदै गएका छन् ।
भूकम्पले मन्दिर वरपरा रहेका अधिकांश संरचनालाई क्षति पुर्याएको थियो । भूकम्पले भत्काएका भग्नावशेषहरु अहिले पनि यत्रतत्र छरिएका छन् ।
नेपाल भ्रमण वर्ष मनाइरहँदा यहाँका मौलिक सम्पदाहरु संरक्षण गर्नेतर्फ सरकारको ध्यान पुगेकै छैन भन्ने कुरा यही विश्वरुप मन्दिर र मूर्तिको लथालिंग अवस्थाले पनि प्रस्ट पार्दछ ।
विनाशकारी भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त भएको विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको विश्वरुप मन्दिर पाँच वर्ष बितिसक्दा पनि पुनःनिर्माण सुरु भएको छैन ।
यसका पुरातात्विक र ऐतिहासिक महत्वका बहुमूल्य काठ र कलाकृति पनि घामपानीले बिग्रिएका छन् ।
एउटा त्रिपाल वा प्लास्टिकले छोपेर राख्ने जरुरी पनि सम्बन्धित निकायहरुले नठानेको देखिन्छ ।
ढलौटबाट बनेको शिवशक्तिको विश्वरुप तान्त्रिक मूर्तिलाई ‘मास्टर पिस’को रुपमासमेत लिने गरिन्छ । तर, घामपानीले यो दूर्लभ मूर्तिसमेत खिइँदै छ ।
संरक्षणको अधिकार पाएको पशुपति क्षेत्र विकास कोष भने मुकदर्शक बनिरहेको छ ।
यस सम्बन्धमा कोषका सदस्यसचिव डा. प्रदीप ढकाल दुई महिनापछि आउने अध्ययन प्रतिवेदनका आधारमा मात्र पुनःनिमार्णको खाका तय हुने बताउँछन् ।
विगतमा कोषले पुरातात्विक मूल्य–मान्यताको विपरीत कंक्रिट हालेर निर्माणकार्य गर्दा स्थानीयको विरोध भएपछि निर्माणकार्य रोकिएको थियो ।
मन्दिरभित्र कंक्रिटको हात्तीपाइले बनाउन थालेपछि काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीको नेतृत्वमा गएको टोलीले त्यसो गर्न रोकेको थियो ।
खड्गीले मौलिक र पुरातात्विक महत्वका आधारमा पुनःनिर्माण हुनुपर्ने बताइन् ।
तर, भाषणमा जति नै प्रतिबद्धता जनाएपनि अहिलेसम्म मन्दिरलाई खुला आकाशमुनि छाडेर पुरातात्विक महत्वका सम्पदाहरुको बेवास्ता गर्नु जिम्मेवार निकायहरुको चरम लापरबाही र गैरजिम्मेवारीपनको पराकाष्ठा हो ।





प्रतिक्रिया दिनुहोस्