शंकर खनाल र भरत केसी (इमेज)
काठमाडौं, माघ ८ । ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु भइसकेको छ ।
निकै तामझामका साथ सुरु गरिएको भ्रमण वर्ष सफल पार्न सरकारले सरोकारवाला निकायहरुसँग पनि उत्तिकै समन्वय गर्नुपर्नेमा निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले जोड दिएका छन् ।
भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ ।
यो लक्ष्य पूरा गर्न प्रचार–प्रसारदेखि नयाँ पहिचान भएका गन्तव्यसम्म पर्यटकको ध्यान आकर्षित गर्नु पनि महत्वपूर्ण पक्ष हो ।
‘अतिथि देवो भवः’ भन्ने संस्कारलाई व्यवहारमा उतार्दै पर्यटक घुम्ने वातावरण सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ ।
संख्यासँगै गुणात्मक अनि खर्च गर्ने पर्यटक भित्र्याउनु कम चुनौतीपूर्ण छैन ।
यी सबै कामका लागि निजी क्षेत्रलाई उत्साहित बनाउन सरकार लाग्नुपर्ने हुन्छ ।
तर, सरकारले भ्रमण वर्षका सन्दर्भमा निजी क्षेत्रसँग पर्याप्त समन्वय नगरेको गुनासो आउन थालेको छ ।
भ्रमण वर्षसँग प्रत्यक्ष जोडिएको भ्रमण वर्ष सचिवालय पनि पर्यटनमैत्री हुन नसकेको पर्यटन व्यवसायीहरुकै गुनासो छ ।
भ्रमण वर्ष सफल बनाउने निजी क्षेत्रले नै हो । निजी क्षेत्रलाई ऊर्जा दिनलाई नै यो अभियान सुरु गरिएको सरकारी भनाइ रहँदै आएको छ ।
निजी क्षेत्र पनि नवप्रवर्तनसहित गुणस्तरीय सेवाका लागि प्रतिबद्ध हुनुपर्ने उसको तर्क छ ।
यता, निजी क्षेत्रले भने भ्रमण वर्ष अभियान घोषणा गरेरमात्रै सरकार पन्छन नसक्ने भन्दै खबरदारी गरिरहने जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्