Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


नेपाली टोली खारिँदै, मलेसियाली टोलीमाथि १७२ रनको जित


0
Shares

पोखरा, माघ ७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले यही माघ २२ गतेदेखि काठमाडौंमा हुने अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक एकदिवसीय क्रिकेटका लागि मलेसियाविरुद्धको अभ्यास खेलमा सशक्त प्रदर्शन गरेको छ ।

लगातार दोस्रो जित

‘क्यान प्रेसिडेन्ट ११’ को नामबाट खेलेको नेपाल र ‘मलेसिया सेक्रेटरी ११’ को नामबाट खेलेको मलेसियाबीचको मैत्रीपूर्ण शृंखलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

१७२ रनले विजयी

नेपालले मंगलबार पोखरा रंगशालामा भएको दोस्रो खेल १७२ रनले जितेको हो । सोमबार भएको पहिलो खेलमा नेपाल १३४ रनले विजयी भएको थियो ।

नेपालको २९० रन

मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा २९० रन बनाएको थियो ।

रोहितकुमार पौडेलले ‘रिटायर्ड आउट’ हुनुभन्दा पहिले ५७ र कप्तान ज्ञानेन्द्र मल्लले रिटायर्ड आउट हुनुपूर्व ५४ रन जोडे । त्यस्तै, सुवास खकुरेलले ४८ रन बनाए ।

मलेसियाको ११८ रन

जवाफमा मलेसियाले २८ ओभर ४ बलमा ‘अलआउट’ हुँदै ११८ रनमात्र  बनाउन सक्यो ।

विकेट

सइद अजिजले सर्वाधिक २८ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा किशोर महतो र ललितनारायण राजवंशीले समान ३/३ विकेट लिए ।

सुशन भारीले २ तथा कलमसिंह ऐरी र पवन सर्राफले समान १/१ विकेट लिए ।

अभ्यास खेल

नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक शृंखलाका लागि बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीलाई मलेसियासित तीनओटा एकदिवसीय मैत्रीपूर्ण अभ्यास खेलको व्यवस्था मिलाएको हो ।

तेस्रो तथा अन्तिम खेल आउँदो बिहीबार हुनेछ ।