
काठमाडौं, माघ ७ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले आर्थिक तथा सामाजिक जीवनका क्षेत्रहरुमा पुरुष तथा महिलालाई समान अधिकार सुनिश्चित गर्न समिति प्रतिबद्ध रहेको बताएकी छन् ।
‘युवा जागरुकता आवश्यक’
‘समानताको पुस्ता : प्रतिबद्ध युवा दस्ता’ भन्ने नाराका साथ मंगलबारदेखि काठमाडौंमा सुरु भएको राष्ट्रिय युवा सम्मेलनमा उनले महिला र पुरुषबीचको एकताबाट मात्र परिवर्तन सम्भव हुने भएकाले त्यसका लागि समिति प्रतिबद्ध रहेको बताइन् ।
समाज रुपान्तरण र लैंगिक विभेद अन्त्यका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसका लागि युवा जागरुकता आवश्यक रहेकामा उनले जोड दिइन् ।
युवा शक्तिलाई महिला सशक्तिकरण र र हिंसा न्यूनीकरणका लागि उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।
‘विभेद अन्त्यका लागि युवाहरुको भूमिका महत्वपूर्ण’
महिला अधिकारकर्मी बन्दना राणाले लैंगिक असमानता, यौन प्रजनन, स्वास्थ्यलगायतका अभियानमा युवाहरुको सकारात्मक भूमिका हुनुपर्ने बताइन् ।
महिलामाथि हुने गरेका सबै प्रकारका विभेदको अन्त्यका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
‘सहकार्य आवश्यक’
‘एसिड’ आक्रमण प्रभावित बालिका मुस्कान खातुन अन्सारीले समाजमा महिला र बालबालिकामाथिको हिंसा अन्त्य हुन नसकेकाले त्यसका लागि सहकार्य आवश्यक रहेको बताइन् ।
दुई दिनसम्म चल्ने सम्मेलनमा सात प्रदेशका २०० बढी युवा सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्