
एजेन्सी । श्रीलंका राष्ट्रपति गोतावाया राजापाक्षेले गृहयुद्धका क्रममा बेपत्ता भएका हजारौं मानिसको मृत्यु भएको बताएका छन् ।
राष्ट्रपति राजापाक्षेले मुलुकको दुई दशक भन्दा लामो गृहयुद्धमा २० हजार भन्दा बढी बेपत्ता भएकाहरुको मृत्यु भएको पहिलो पटक स्वीकार गरेका हुन् ।
राजधानी कोलम्बोमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिसंगको भेटमा उनले यस्तो बताएका हुन् । राष्ट्रपतिको कार्यालयले बेपत्ताहरुको मृत्यु प्रमाणपत्र जारी गरिने भन्दै उनीहरु मध्ये धेरैलाई तमिल टाइगर्संले जबरजस्ती आफ्नो संगठनमा भर्ती गरेको जनाएको छ ।
राजापाक्षेको सरकारले बेपत्ता भएकाहरुको सम्बन्धमा सरकारको कुनै भूमिका नरहेको जिकिर गर्दै आएको छ । बेपत्ता व्यक्तिका परिवारहरुले उनीहरुको अवस्थाबारे जानकारी दिन माग गर्दै प्रदर्शनहरु गर्दै आएका छन् ।
श्रीलंकाली सेनाले सन् २००९ को मे महिनमा २६ वर्षदेखि सशस्त्र संघर्ष गरिरहेको तमिल विद्रोहीलाई पराजित गरेको थियो । गृहयुद्धका क्रममा करिब १ लाखको मृत्यु भएको र २० हजार बेपत्ता भएको अनुमान छ ।
जसमा धेरैजसो तमिल समुदायका छन् । वर्तमान राष्ट्रपति राजापाक्षे तमिल टाइगरविरुद्धको युद्धको महत्वपूर्ण समयमा रक्षामन्त्री थिए ।
श्रीलंकाली सरकारले गृहयुद्धको समयमा मानवअधिकार उल्लंघनका घटनाको छानबिन गर्न राष्ट्रसंघ र मानवअधिकारवादी समुहहरुले गरेको आग्रह अस्वीकार गर्दै आएको छ ।
यो विषय आन्तरिक भन्दै आन्तरिक रुपमै छानबीन गर्ने उसको अडान छ ।
प्रतिक्रिया दिनुहोस्