एमालेमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु « Image Khabar


एमालेमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी

0
Shares

काठमाडौं । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौं महाधिवेशनको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको पदाधिकारीको सूचिप्रति केही नेताहरुले असहमति जनाएपछि नयाँ नेतृत्वको लागि अन्ततः चुनाव हुने निश्चित भएको छ ।

ओलीले आफ्नाे नेतृत्वमा १९ सदस्यीय पदाधिकारीको सूचि गएराती बन्दसत्रमा पेश गर्नुभएको थियो । उक्त सूचिप्रति बन्द सत्रका अधिकांश सहभागीले समर्थन गरे पनि दश भाई समूहभित्रका भीम रावल र घनश्याम भुसालले असहमति जनाएपछि निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुने भएको हो ।

त्यसका लागि अहिले विहान ८ बजेदेखि मनोनयन शुरु गरिएको छ । डेढ घण्टाभित्र मनोनयन सम्पन्न गरेर निर्वाचन प्रक्रिया थाल्ने एमाले महाधिवेशन निर्वाचन आयोगले जनाएको छ । पदाधिकारीको निर्वाचन हुने अवस्था आएपछि केन्द्रीय सदस्यहरुमा पनि निर्वाचन हुनसक्ने संभावना बढेको छ ।

गए राती ओलीले ३०१ जना केन्द्रीय सदस्यको सूचि पनि बन्द सत्रमा पेश गर्नुभएको थियो । ओलीको प्रस्तावमा रावलले असहमति जनाएपछि केही बेर रावल विरुद्ध हो–हल्ला भएकोमा ओलीले सहभागीहरुलाई शान्त रहन भन्दै ‘रावलजीले उम्मेदवार बन्छु नै भन्ने हो भने दिनुपर्छ ।’ भन्नुभएको थिायो । त्यसपछि निर्वाचन प्रक्रियामा जाने निश्चित भएको हो ।

अध्यक्षमा निर्वाचन हुने भएकाले बन्द सत्रमा पेश गरिएका पदाधिकारी र केन्द्रीय सदस्यमा पनि उम्मेदवारी परेमा निर्वाचन नै हुने छ । ओलीले प्रस्ताव गरेका पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल हुनुहुन्छ भने उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुबासचन्द्र नेम्बाङ हुनुहुन्छ ।

यस्तै महासचिवमा शंकर पोखरेललाई अघि सार्नुभएक ओलीले उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गर्नुभएको छ । सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल रहेका छन् ।