
लहान, माघ ४ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् सिरहाको गोलबजार नगरपालिका–७, पुरानो चोहर्वामा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा दुुईको मृत्यु र पाँच घाइते भएका छन् ।
जन्ती लिएर जाँदै गरेको स१त ६५६० नम्बरको ट्याक्टर शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सिरहाको लहान नगरपालिका–१३ निवासी २१ वर्षीय सन्तोषकुमार यादव र धनगढी नगरपालिका–१२ निवासी २२ वर्षीय श्रीप्रसाद मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।
ती दुवैलाई उपचारका लागि लहानस्थित अस्पताल ल्याउँदै गरेको अवस्थामा बाटोमै मृत्यु भएको उनले जानकारी दिए ।
मृतक दुवैको शव लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको र घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बाख्रालाई जोगाउनेक्रममा ट्याक्टर अचानक अनियन्त्रित भइ दुर्घटनामा परेको स्थानीयवासीले बताएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्