Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


प्रधानन्यायाधीशको राजीनामा माग्दै बारले सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम


0
Shares

काठमाडौं, मंसिर ४ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आइतबारदेखि शुक्रबारसम्म देशब्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले देशभरका बार इकाइलाइ पत्र लेखी मंसिर ५ गते आइतबारदेखि मंसिर १० गते शुक्रबारसम्म आन्दोलनको कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नु भएको छ । आन्दोलनअन्तर्गत आइतबार देशभरका बार इकाइले अदालतभित्र दंगा प्रहरी प्रवेश गराउने, कानून व्यवसायीको शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन हतियारसहितको दंगा प्रहरी तैनाथ गर्ने र कानुन व्यवसायीमाथि दमन र कुटपिट गरेको विरोधमा बहस बहिस्कार गर्न आग्रह गरिएको छ ।

सोमबार देशभरका अदालतमा विहान १० देखि १२ बजेसम्म कालोपट्टीसहितको धर्नालाई निरन्तरता दिने, संघीय संसदमा रहेका सबै राजनीतिक दलका संसदीय दलमा ज्ञापनपत्र बुझाउने, मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने बारले निर्णय गरेको छ ।

बुधबार उच्च अदालत र उच्च अदालतका इजलासमा विरोधसभा आयोजना गर्ने, बिहीबार र शुक्रबार सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने बारले निर्णय गरेको छ । बारले मंसिर २४, २५ र २६ गतेलाई तोकिएको राष्ट्रिय सम्मेलन पनि स्थगित गरेको छ ।