
काठमाडौं, माघ १ । विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत् अमेरिका र ओमानसँगको शृंखलाका लागि नेपालले बुधबारदेखि बन्द प्रशिक्षण थालेको छ ।
पोखरा रंगशालामा मुख्य प्रशिक्षक उमेश पटवालबिना नै थालिएको बन्द प्रशिक्षणमा महत्वपूर्ण खेलाडीहरुसमेत उपस्थित छैनन् ।
कतिपय खेलाडीहरु मनमोहन मेमोरियल एमएम कप एकदिवसीय क्रिकेटमा व्यस्त रहँदा प्रशिक्षणमा बोलाइएका २४ मध्ये १७ जनामात्र सहभागी भएका छन् ।
पटवाल पुस २७ गतेभित्र भारतबाट आइसक्ने भनिएपनि नआउँदा जगत टमाटाले प्रशिक्षण सम्हालिरहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबारसम्म पटवाल आइपुग्ने बताएको छ ।
आर्मी फाइनलमा
यसैबीच, त्रिभुवन आर्मी क्लब एमएम कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
सुनसरीको इनरुवामा जारी प्रतियोगिताको बुधबारको पहिलो सेमिफाइनलमा प्रदेश नम्बर–३ लाई ६४ रनले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४६ ओभर ३ बलमा ‘अलआउट’ हुँदै २१६ रन बनाएको थियो ।
अनिल मण्डलले ४३ तथा कुशल मल्लले ३७ रन बनाए ।
गौतम केसीले ४ तथा तिलक भण्डारी, नन्दन यादव र इशान पाण्डेले समान २/२ विकेट लिए ।
जवाफमा प्रदेश–३ ले ३८ ओभर १ बलमै अलआउट हुँदै १५२ रनमात्रै बनायो ।
सोनु तामाङले ७४ रन बनाएपनि टिमलाई जिताउन सकेनन् ।
आर्मीका सुशन भारीले ३ तथा शाहब आलमले २ विकेट लिए ।
अब फाइनलमा आर्मीले नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीचको बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासित खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्