३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


गोरु जुधाउने मेलामा ६६ हल गोरु जुधाइयो


0
Shares

मनिता कोइराला र सुजित भण्डारी (ईमेज)

नुवाकोट, माघ १ । हरेक वर्ष माघे संक्रान्तिका दिन आयोजना गरिने गोरु जुधाउने मेला यो वर्ष पनि नुवाकोटसहितका जिल्लामा सम्पन्न भएको छ ।

करिब दुई सय वर्षको इतिहास बोकेको उक्त मेला पछिल्ला वर्षहरुमा पनि उत्तिकै लोकप्रिय छ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह मावली घर नुवाकोट जाँदा उनको मनोरञ्जनका लागि गोरु जुधाएर देखाइएको र त्यसपछि सर्वसाधारणको मनोरञ्जनका लागि पनि गोरु जुधाउने परम्परा सुरुवात भएको हो ।

गोरु जुधाउने ठाउँका रुपमा प्रख्यात नुवाकोटको तारुकामा यस वर्ष पनि धुमधामका साथ मेला सम्पन्न भएको छ ।

जिल्लाका विभिन्न स्थानमा गोरु जुधाइ हुने भएपनि विगत १४ वर्षदेखि तारुका र वेत्रावतीमा व्यवस्थित तरिकाले यो मेला आयोजना हुँदै आइरहेको छ । नुवाकोटको तारुकामा २१ हल, रसुवा र नुवाकोटको सीमाना बेत्रावतीमा १५ हल, पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङमा १० हल, लिखु गाँउपालिकाको कट्टिछापमा १० हल र तादी गाँउपालिकाको सातबिसेमा १० हल गोरुको भिडन्त भएको छ ।

त्यस्तै गोरखाको भीमसेन थापा गाउँपालिकामा १५ हल गोरु जुधाइएको थियो । बेत्राबतीमा भएको कार्यक्रमलाई प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले उद्घाटन गरेकी थिइन् । 

गोरु जुधाएको हेर्न नुवाकोट, रसुवा, काठमाडौंँ, धादिङलगातका जिल्लाबाट हजारौंँको संख्यामा सर्वसाधारण पुगेका थिए । पर्यटन प्रवद्र्धन तथा कृषकहरुलाई प्रोत्साहन गर्नका लागि हरेक वर्ष मेलाको आयोजना गर्दै आएको रसुवाको गोसाइकुण्ड युवा क्लवमा आबद्ध स्थानीय सुरज लावत बताउछन् ।

प्रतियोगितामा सहभागी भएका गोरुका कृषकहरु पनि आफ्नो गोरुले जितोस् भनेर कामना गरिरहेका देखिन्थे । विभिन्न ठाउँबाट मेला भर्न आएका दर्शकहरु पनि गोरुहरुबीचको आक्रामक जुधाइले रमाइरहेका थिए ।

परम्परागत संस्कृतिलाई निरन्तरता दिन र पर्यटक प्रवद्र्धनका लागि यसले टेवा पुग्ने आयोजकको विश्वास छ ।