पश्चिम नवलपरासीमा सभासद् र उपमेयरको हार « Image Khabar


पश्चिम नवलपरासीमा सभासद् र उपमेयरको हार



परासी । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटअन्तर्गत पश्चिम नवलपरासीमा भएको निर्वाचनमा सभासद् र उपमेयरले हारेका छन्। सबै वडाअधिवेशन निर्विरोध गरेको जिल्ला कमिटीले महाधिवेशन प्रतिनिधि छनौटमा भने सहमति जुटाउन नसकेपछि शनिबार निर्वाचन भएको थियो ।

जिल्लामा २ वटा निर्वाचन क्षेत्र छन् । एउटा निर्वाचन क्षेत्रबाट दुई महिलासहित ६ जना गरी जिल्लाबाट कुल १२ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

जिल्लाका कुल ४२ सय ९६ जना संगठित सदस्यले उनीहरुलाई चयन गरेको निर्वाचन समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधिका लागि जिल्लाका निर्वाचन क्षेत्रहरुबाट सभासद्हरु, मेयर र उपमेयरले उमेदवारी दिएकोमा संघीय निर्वाचन क्षेत्र नं. २ बाट उमेदवारी दिएकी लुम्बिनी प्रदेश सभासद् भगवती भण्डारी र सुनवल नगरपालिकाका उपमेयर दधिराम अर्याल पराजित भएका हुन् ।

यस क्षेत्रमा ६ महिलासहित १७ जनाले उमेदवारी दिएका थिए । महिला तर्फबाट उमेदवार दिएकी सभासद् भण्डारी ३ सय ३७ मतअन्तरले पराजित भएकी हुन् । उनी समानुपातिक सभासद् हुन् । त्यसैगरी खुला तर्फबाट उमेदवारी दिएका उपमेयर अर्याल २३ मतअन्तरले पराजित भए ।