Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


व्यावसायिक वातावरणमा सुधार, ढुक्क भएर कारोबार गर्नोस् : अर्थमन्त्री


0
Shares

काठमाडौं, पुस २८ । अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समय मुलुकमा व्यावसायिक वातावरणमा सुधार आएको भन्दै ढुक्क भएर कारोबार गर्न आग्रह गरेका छन् ।

स्वच्छ व्यवसायलाई बढावा दिन एवं संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

नेपाल चेम्बर अफ कमर्सको ६९औं वार्षिक साधारणसभा एवं चेम्बरको ७०औं वर्ष प्रवेशका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आर्थिक सूचक सकारात्मक बन्दै गएको तथ्यांकले देखाएको, ब्याजदरमा सुधार आउँदै गएको, लगानीको वातावरणकै लागि निजी क्षेत्रमैत्री कानुन बनाइएको बताउँदै उनले फेरि पनि व्यवसायीहरुले ‘वातावरण भएन भनेर भन्न सुहाउँदैन’–भने ।

गलत व्यवसायले स्वच्छ व्यवसायलाई हाँक्ने अवस्था नआओस् भन्नेमा भने आफूहरु प्रतिबद्ध रहेकाले स्वच्छ व्यवसायी डराउनुपर्ने कुनै कारण नरहेको उनको भनाइ थियो ।

सरकार लगानीकर्तालाई हतोत्साह गरी समृद्धिको लक्ष्यमा पुग्न नसक्ने भन्दै उनले सरकार र निजी क्षेत्र एउटै डुंगाको सहयात्री भएको पनि बताए ।

यसैले कानुनी, व्यावसायिक समस्या समाधान गर्दै जान सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री खतिवडाले उल्लेख गरे ।

व्यवसाय र उद्योगको पनि मानिसको जीवनजस्तै अन्त्य हुनु स्वाभाविक हो भन्दै उनले यस्ता विषयमा रोइकराइ गरेरमात्र नबसी नवप्रवर्ततर्फ लाग्न पनि सुझाए ।

निर्यात प्रवर्द्धनका लागि दिँदै आएको अनुदानको विषयमा व्यवसायीहरुबीच नै कुरा नमिलेको भन्दै उनले यसलाई सहजरुपमा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताए ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकमा राजनीति स्थीरता आएपनि अझैपनि अपेक्षित लगानीमैत्री वातावरण बनिनसकेको उल्लेख गरेका थिए ।

नीतिगत स्थायित्व, अविलम्ब राजश्व बोर्ड गठन, दोहोरो–तेहरो करको समस्या, राजश्व चुहावट नियन्त्रणमा कठोर ऐन प्रस्तावलगायतले निजी क्षेत्र अन्योलमा रहेकोप्रति श्रेष्ठले सरकारको ध्यानाकर्षण गराएका थिए ।