Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


मेलम्चीमा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा


13
Shares

काठमाडौं, पुस २८ । मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ ।

अहिले झन्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ ।

चार महिनापहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम सुरु गरेसँगै तीव्रगतिमा काम अघि बढेको छ ।

इटालियाली निर्माण कम्पनी सीएमसीले काम अलपत्र छाडेर जाँदा यहाँ सुरुङमा भुइँ ढलानको काम २.५ किलोमिटर र भित्ता ढलान २.५ किलोमिटर बाँकी थियो ।

बाँकी काम अहिले कम्पनीले आवश्यक जनशक्ति परिचालन गरेर अघि बढाइएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

नियमितरूपमा काम गरिरहँदा आगामी दुई महिनामा सुरुङको काम सम्पन्न हुने उनको भनाइ छ ।

उनले भने–‘यही गतिमा काम भइरहँदा दुई महिनाभन्दा बढी समय नलाग्ने देखिएको छ ।’

आयोजना निर्माणका क्रममा यसअघि धेरै अवरोध भएपनि अहिले अवरोध कम भएकाले तोकिएको अवधिमा सम्पन्न हुने वरिष्ठ डिभिजनल इन्जिनियर पन्तले बताए ।

अहिले सो आयोजनाको समस्याकारूपमा सीएमसीले काम छाडेर गएपछि उसले सहायक ठेकेदारलाई दिनुपर्ने बाँकी रकम भुक्तानी भएको छैन ।

अहिलेसम्म कामदारको भुक्तानी भइसकेको भएपनि सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुंगो लाग्न बाँकी छ ।

सरकारले बाँकी काम सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्यले कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ०.१५ प्रतिशतले लाभांश दिने सम्झौतामा उल्लेख छ । वर्षाअघि नै नदीमा बाँध बाँध्ने काम सम्पन्न हुने बताइएको छ ।

मेलम्ची काठमाडौंमा झरेपछि पानी वितरणका लागि आवश्यक पूर्वाधारको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । रासस