
चितवन, पुस २८ । चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा साउन महिनायता कालगतिका कारण १० वटा गैँडा मरेका छन् ।
पछिल्लो पटक सोमबार निकुञ्जको माडी क्षेत्रमा पर्ने वनकट्टाको भलुवाई खोलामा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार घाइते गैँडा मरेको सूचना प्राप्त भएको छ ।
सो गैँडाको पोष्टमार्टमका लागि प्राविधिक टोलीसहित आफू त्यसतर्फ जानलागेको उनले जानकारी दिए । केहीदिन अघि सो गैँडा घाइते भेटिएपछि निगरानीमा राखिएको थियो । घिमिरेका अनुसार साउनयता निकुञ्ज क्षेत्रमा आठ वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैँडा कालगतिले मरेका छन् ।
गत वर्ष कालगतिले ४३ वटा गैँडा मरेका थिए । अघिल्ला वर्षमा वार्षिक सरदर २५ हाराहारीमा गैँडा कालगतिले मर्ने गरेको उनले जानकारी दिए । गैँडा जुधेर, दलदलमा फसेर, करेन्ट लागेर, बूढो भएर मर्ने गरेका छन् ।
कालगतिले गैँडा मरेका भए पनि तस्करबाट भने पछिल्ला वर्षमा जोगिएको छ । सशस्त्र द्वन्द्वका समयमा एकै वर्ष तस्करले खाग प्रयोगका लागि ३८ वटासम्म गैँडा मारेका थिए
। पछिल्लो गणनाअनुसार देशभर छ सय ४५ गैँडा रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ ससय पाँच वटा गैँडा फेला परेका थिए । यस वर्षको चैत्रमा गैँडा गणना गरिँदै छ ।
पछिल्ला वर्षमा कालगतिले गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मृत्युको कारण पत्ता लगाउन समिति गठन गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्